भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषय संसदमा उठ्यो, रास्वपा सांसदको प्रश्न : ‘यो स्वाट्टै हान्छु भनेको के हो ?’

लोकपथ
252
Shares

काठमाडौं । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको विषयमा धम्क्याएको र गृहमन्त्री र सशस्त्र प्रहरी महानिरीक्षकका नाममा अपमानजनक शब्द प्रयोग गरेको विषय संसद् बैठकमा उठान भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले आजको प्रतिनिधिसभा बैठकमा यो कुराको उठान गरेकी हुन् । 

बैठकमा बोल्दै संग्रौलाले भनिन्, ‘कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई भन्सारमा गाडी नियन्त्रणमा लिएको भन्दै अत्यन्तै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको छ ।’

‘ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र स्वयं गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुन, मर्यादा र चेन अफ कमान्डको धज्जी उडाएका छन्, यो स्वाट्टै हान्छु भनेको के हो ? फोन हान्छु भनेको हो कि, तिमीलाई भेटेर हान्छु भनेको हो कि अथवा तिम्रो पद खान्छु भनेको हो ?’ उनले भनिन् । 

उनले थपिन्, ‘एउटा भन्सारको अधिकृतले गृहमन्त्रीलाई हान्ने क्षमता राख्छ भने हामी संसदमा के गरिरहेका छौँ ?’ 

आफ्नो जिम्मेवारी र सीमाभित्र रहेर राजस्व चुहावट नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीलाई नै सीमा क्षेत्रका भन्सार अधिकृतले यसरी गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग गर्नु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । यसले राष्ट्रिय सुरक्षा निकाय र निजामती सेवाको मर्यादा र सिंगो राज्य संयन्त्रको छविमाथि नै गम्भीर आघात पु¥याएको उनले बताइन् । 

संग्रौलाले भनिन्, ‘राज्यका उच्च पदस्थ अधिकारीहरूलाई नै सार्वजनिक रूपमा धम्क्याउने यस्तो अमर्यादित शैली कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।’

यसले सिंगो राज्य संयन्त्रको छविमै धुमिल बनाएको भन्दै उनले उक्त अडियो प्रकरणको छानबिन गर्न माग गरेकी छन् ।

यस घटनाको तत्काल र निष्पक्ष छानबिन गर्न माग गर्दै संग्रौलाले भनिन्, ‘यदि ती अधिकृत दोषी देखिएको खण्डमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ र सीमा क्षेत्रमा खटिने सुरक्षा निकाय र राजस्व प्रशासनबीच उचित समन्वय र मर्यादित वातावरण कायम गर्न नेपाल सरकारले तत्काल ठोस कदम चाल्नुपर्छ ।’

भन्सार पास भएर आएको भारतीय गाडी समातेको विषयमा कैलालीका सशस्त्र प्रहरी प्रमुख एसपी खुमबहादुर केसीलाई कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टले थर्काएको विषय हिजो सार्वजनिक भएको थियो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी केसीलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत भट्टले सशस्त्रले रोकेको गाडी तत्काल नछोडेको खण्डमा गृहमन्त्रीदेखि आईजीपीसम्मलाई ‘फोन लगाउने’ बताएका थिए । भट्टले केसीलाई गड्डाचौकीबाट भन्सार पास भइसकेको गाडी कैलालीमा किन नियन्त्रणमा लिएको भन्दै प्रश्न गरेका थिए । एसपी केसीको जवाफ नसुनी गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन उनले उर्दी जारी गरेका थिए । 

एसपी केसीले भारतीय गाडी भएकाले नियन्त्रणमा लिएको बताएपछि भट्टले त्यसलाई ‘भारतीय गाडी’ भन्न आनाकानी गर्दै ‘सामान बोकेको गाडी’ भएको बताएका थिए ।

एसपी केसीले अलिकति अन्डर बिलिङ छ कि भनेर शंका लागेर समातेको जवाफ दिँदा भट्टले अन्डर बिलिङ भएको भए गाडी भन्सार कार्यालयमा पठाउनुपर्ने भनेका थिए । एसपी केसीले पनि त्यसमा सहमति जनाएका थिए । त्यसपछि भन्सार अधिकृत भट्टले थपे, ‘भन्सारमा पठाइदिनुपर्‍यो । होइन भने ठीक छ, हजुरहरूलाई लाग्छ भने छोडिदिनुपर्‍यो । बाटोमा दुःख दिने कामचाहिँ नगरौँ सर, त्यसले दुःख पायो भने, भोलि भन्सार पुगेन वा छुटेन भने म मेरो डीजी, हजुरको आईजीपी प्लस तीन–चार जनालाई स्वाट्टै हान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?