काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा मृत्यु भएका चालक अर्जुन दोङ तामाङले अरू व्यक्तिको नाममा जारी भएका सवारीचालक अनुमतिपत्र तथा अन्य कागजात प्रयोग गर्ने गरेको खुलेको छ ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वर बस स्टप नजिक सोमबार आगलागी भएको थियो । आगलागीमा घाइते भएका चालक तामाङको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले बताए ।
प्रहरीका अनुसार तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका हुन् । उनको वास्तविक पहिचान अर्जुन दोङ तामाङ रहेको खुलेको छ । तर, उनले विभिन्न व्यक्तिका नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा पनि तामाङ संलग्न थिए । उक्त घटनापछि उनी फरार भएका थिए । सो घटनामा उनले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको एसएसपी घिमिरेले बताए ।
त्यस्तै, करिब तीन महिनाअघि काठमाडौंको मूलपानीमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको भनाइ छ ।
त्रिपुरेश्वरमा बस चलाउँदा पनि उनले दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा तामाङले अन्य व्यक्तिको नाममा रहेको बैंक खाता र नागरिकतासमेत प्रयोग गरेको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।
विभिन्न व्यक्तिका नाममा जारी भएका कागजात उनले कसरी प्राप्त गरे र कुन प्रयोजनका लागि प्रयोग गरे भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । साथै, ती कागजातको दुरुपयोगमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया