विदुर नगरपालिका–५ का बाढी प्रभावितलाई रेडक्रसको नगद सहयोग

लोकपथ
0
Shares

नुवाकोट । जिल्लाको विदुर नगरपालिका–५ का बाढी प्रभावितहरुका लागि नेपाल रेडक्रस सोसाइटीले नगद सहयोग उपलब्ध गराएको छ ।

गत भदौ १० को भोटेकोशी बाढीका कारण प्रभावितमध्ये विदुर नगरपालिका–५ का प्रभावित नागरिकहरुका लागि नगद सहयोग उपलब्ध गराइएको हो ।

रेडक्रसको बहुद्धेश्यीय नगद सहायता कार्यक्रम अन्तर्गत दुईसय ५७ जना प्रभावितहरुलाई नगद सहायता उपलब्ध गराईएको हो ।

यस अन्तर्गत मृतकका परिवार, बेपत्ता भएकाका परिवार र घर पूर्ण र घरमा बस्ने अवस्था नरहेका परिवारलाई १५ हजार रुपैयाँका दरले नगद सहायता उपलब्ध गराइएको रेडक्रसको जिल्ला शाखा नुवाकोटले जनाएको छ ।

आइतबार विदुर नगरपालिका वडा नम्वर ५ को कार्यालयमा भएको कार्यक्रमका विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विदुर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, नगद रकम वितरणका लागि सहयोगी संस्था ईन्टरनेशनल फेडेरेशन अफ रेडक्रस (आईसीआरसी) का क्षेत्रीय प्रतिनिधि अलेकजेण्डर म्याथ्यु र नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले एकसय ६ जना प्रभावितहरुलाई नगद सहायता वितरण गरे ।

रेडक्रसका अनुसार कुल प्रभावित दुईसय ८७ जना मध्ये एकसय ५१ जनालाई बैंक खाता मार्फत नगद उपलब्ध गराईएको छ भने बाँकी ३० जनालाई वडा कार्यालय मार्फत नै रकम उपलब्ध गराइनेछ ।

नुवाकोट रेडक्रसले विदुर नगरपालिकाका बाढी प्रभावित १७ सय १० जनालाई नै नगद सहायता उपलब्ध गराउने तयारी गरिरहेको रेडक्रसका जिल्ला सभापति श्रेष्ठले बताए ।

विपदका समयमा बहुद्धेश्यीय नगद सहायता कार्यक्रम मार्फत उपलब्ध गराइने रकम प्रभावितहरुले सम्मानजनक रुपमा आफ्ना आवश्यकताहरु परिपूर्ति गर्नका लागि प्रयोग गर्न सक्ने र त्यसले उनीहरुको दैनिक जीवनयापन केही हदसम्म भएपनि सहज हुने रेडक्रसको नगद तथा भोचर सहायता सम्बन्धी कार्यक्रमका संयोजक भोजराज घिमिरेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?