कांग्रेस महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको पूर्वकार्यवाहक सभापति खड्काको स्पष्टोक्ति

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षले गरेको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन् । उनले यो महाधिवेशनको कुनै पनि प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेस नेता खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा भइरहेको महाधिवेशनको कुनै पनि प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने बताएका हुन् ।

उनले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारी नहुनुको मुख्य कारण विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति कानुन, पार्टी विधान, राजनीतिक दलसम्बन्धी ऐन तथा निर्वाचन आयोगले विगतमा राजनीतिक दलका विवाद निरूपण गर्दा स्थापित गरेको नजिरविपरीत भएको दाबी रहेको पनि बताएका छन् । यो विषयलाई लिएर आफूहरू सर्वोच्च अदालतमा न्यायका लागि गएको अवस्थामा गगन थापाको हस्ताक्षर भएको टिकटबाट निर्वाचन लड्नु आफूलाई ‘चरम अनैतिक’ लागेकाले निर्वाचनमा उम्मेदवारी नदिएको उनले दोहोर्याएका छन् ।

‘सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु चरम अनैतिक काम हुन्छ भन्ने मेरो विश्वासका कारण म चुनावमा लडिनँ,’ उनले भनेका छन् ।

निवर्तमान कार्यवाहक सभापति खड्काले महाधिवेशनका सन्दर्भमा पनि अहिले त्यही परिस्थिति सिर्जना भएको बताएका छन् । सर्वोच्च अदालतको डिभिजन बेन्चले आफूहरूको दाबीविपरीत निर्णय गरेपछि कानुनी प्रबन्धअनुसार त्यसविरुद्ध पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिएको र सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी आफूहरूलाई निस्सा दिएको र सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको उनले बताएका छन् ।

उनले स्मरण गर्दै लेखेका छन्, ‘सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दिएको छ। सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।’

उनले पुनरावलोकनका लागि निस्सा दिइएको अवस्थामा पनि गगन थापाको नेतृत्वमा महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय भएपछि पुनरावलोकनको मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनका सबै प्रक्रिया रोक्न माग गर्दै आफूहरूले सर्वोच्च अदालतमा निवेदन दिएको तर पूर्ण इजलासले महाधिवेशन रोक्का गर्न आवश्यक नदेखिएको भन्दै रिट जारी नगरेपछि कांग्रेसको नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले भनेका छन्, ‘यसको परिणाम नेपाली कांग्रेसको नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भयो ।’

उनले कुनै चमत्कार नभए नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको, सम्भावित विभाजन रोक्न आफूहरूले अन्तिम प्रयास गरिरहेको र कांग्रेस विभाजन भए त्यसबाट कांग्रेसजनलाई मात्र नभई नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्न नमिल्ने अवस्था देखिएको बताए ।

उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई नेपाली कांग्रेससम्बन्धी पुनरावलोकनको विचाराधीन मुद्दाको परिस्थितिको गम्भीरता मूल्यांकन गरी अग्राधिकार दिन मिल्ने भए मुद्दाको अन्तिम फैसला छिटो गरिदिन उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सर्वोच्चमा विचाराधीन कांग्रेसको पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरताको आकलन गरी अग्राधिकार राख्ने प्रबन्ध गर्न मिल्छ भने अन्तिम फैसला चाँडो गरिदिनुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?