संविधान समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्छ : रवि लामिछाने

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने काम अझै पूरा हुन नसकेको बताएका हुन् ।

उनले संविधानले सुनिश्चित गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक जीवनमा कार्यान्वयन भए मात्र लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता हुने बताए ।

लामिछानेले संविधानलाई समयअनुसार परिमार्जन गर्न सकिने जीवन्त दस्तावेजका रूपमा लिनुपर्ने धारणा राखेका छन् । राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा संविधानका विषयवस्तुमा सुधार र संशोधन गर्न सकिने उनको भनाइ छ ।

उनले संविधानमा व्यवस्था गरिएका विषयले नै समीक्षा आवश्यक रहेको भन्दै अबको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताए ।

संविधान दिवस बेथिति र कमजोरी सुधार गर्दै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने विषयमा विवेकपूर्ण बहस गर्ने अवसर भएको लामिछानेले बताएका छन् ।

उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणका लागि सबै राजनीतिक शक्ति, राज्यका अंग र नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?