काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले वर्तमान सरकार विद्यमान संविधानप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।
‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,’ उनले भने ।
प्रधानमन्त्री बालेनले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमानदार र अनवरत रूपमा क्रियाशील हुन नसके संविधान कागजमा मात्र सीमित हुने बताए ।
‘तर, एउटा कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन । संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ,’ उनले भने ।
उनले सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दाबी गरे । भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू बलिया र धेरै रहेको उनको भनाइ थियो ।
‘म प्रष्ट भन्छु यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन् । झन् धेरै छन्,’ प्रधानमन्त्री बालेनले भने ।
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको भन्दै उनले सरकार यस विषयमा सचेत रहेको बताए । सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया