काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ श्रृङ्खला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा बोल्दै शर्माले जलवायु परिवर्तनसम्बन्धी नेपालको साझा राष्ट्रिय दृष्टिकोण तय गर्नुपर्ने बताएका हुन् ।
उनले नेपालले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ र यसमा आफ्नो साझा दृष्टिकोण के हो भन्ने विषयमा राष्ट्रिय नीति तथा धारणा बनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय मञ्चमा गएर भाषण गरेर फर्किनेभन्दा कार्बन उत्सर्जन कम गरिरहेका विश्वभरका साना राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियान नेपालले अघि बढाउनुपर्ने उनको भनाइ छ ।
कार्बन उत्सर्जनका कारण सिर्जित जलवायु संकटमा ठूला राष्ट्रहरूको भूमिका रहेको भन्दै शर्माले ती राष्ट्रसँग द्वन्द्व वा दुश्मनी नभई तथ्यमा आधारित भएर पृथ्वीको संकट समाधानका लागि सहकार्य गर्नुपर्ने बताए ।
‘यो पृथ्वीको संकटको समाधानमा सहकार्य गर्ने कुरालाई गहिरो संवादबाट नेपालले नै नेतृत्व गर्ने अग्रसरता गर्नुपर्छ,’ उनले भने, ‘यसमा कुनै मोर्चाबन्दीको कुरा होइन । कूटनीतिक परिपक्वता, सहकार्यको वृहत्तर भावना र पृथ्वी जोगाउनुपर्ने साझा दायित्वलाई नेपालले प्रतिनिधित्व गर्नुपर्छ ।’
नेपालले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण मुलुकले भोगिरहेको मानवीय तथा भौतिक क्षतिको तथ्यपूर्ण विवरण प्रस्तुत गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री बालेन्द्र साहले महासभामा नेपालको क्षति मात्रै प्रस्तुत नगरी दीर्घकालीन रूपमा विश्वका साना राष्ट्रहरूको साझा आवाजका रूपमा धारणा राख्नुपर्ने शर्माको भनाइ छ ।
उनले नेपालले अहिले भोगिरहेको क्षतिको विषयलाई विश्वसामु प्रस्तुत गर्दै जलवायु संकटको दीर्घकालीन समाधानका लागि साझा अभियान अघि बढाउनुपर्ने बताए ।
शर्माले जलवायु परिवर्तनका कारण १ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु भएको र ६ हजारभन्दा बढी बेपत्ता भएको तथ्यांक प्रस्तुत गर्दै यसले निम्त्याएको मानवीय संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा गम्भीरतापूर्वक उठाउनुपर्ने बताए ।
उनले जलवायु संकटको मानवीय पक्षलाई विश्वसामु प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै सिन्धुपाल्चोककी ११ वर्षीया खुशबू कार्कीको उदाहरणसमेत दिए । उनका अनुसार खुशबूले बाढीपहिरोमा बुबा गुमाएपछि उनको अन्तिम संस्कारमा बसेकी छन् ।
राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिवेदन उद्धृत गर्दै शर्माले ४९ जना बालिका र ५३ जना बालकले आफ्ना दुवै अभिभावक गुमाएको उल्लेख गरे ।
प्रधानमन्त्री साहलाई आफूहरूले जलवायु परिवर्तनका विषयमा सुझाव लिखित रूपमा समेत दिने उनले बताए । नीति प्रतिष्ठानका साथीहरूले पनि यससम्बन्धी तयारी गरिरहेको शर्माले जानकारी दिए ।
उनले प्रधानमन्त्री साहले दीर्घकालीन दृष्टिका साथ नेपालको मात्र नभई विश्वका साना राष्ट्रहरूको साझा आवाज प्रतिनिधित्व गर्ने गरी संयुक्त राष्ट्रसंघमा धारणा राख्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया