हेटौँडा । हेटौँडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको हो ।
त्रिभुवन राजपथले हेटौँडालाई पालुङ–नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीकाभैरव–ललितपुर हुँदै काठमाडौं उपत्यकासँग जोड्छ ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले गत भदौ १६ गतेदेखि एकतर्फी यातायात सञ्चालनको व्यवस्था गरेको थियो । जसअनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्न भनिएको थियो ।
कृष्णभीर खण्डमा सडक सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाइएको प्रशासकीय अधिकृत सुवेदीले बताए । उनका अनुसार अब त्रिभुवन राजपथ र कान्ति राजमार्ग दुवैमा नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया