काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढीपहिरोको आडमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिप्रति सरकार मौन बस्न नहुने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले संकटको मौका छोपेर कालोबजारी भइरहेको आरोप लगाए । मौज्दातमा रहेको खाद्यान्नमा समेत अत्यधिक मूल्य बढाइएको उनको भनाइ छ ।
‘बाढीपहिरोको आडमा आम जनताको भान्छामाथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरंकुश मूल्यवृद्धिले अब मौन बस्नु उपयुक्त देखिँदैन,‘उनले भने, ‘संकटलाई नाफा कमाउने स्वर्णिम अवसर ठान्दै कालोबजारीयाहरूले मौज्दातमा रहेको खाद्यान्नमा समेत आकाश छुने मूल्य बढाएका छन् ।’
खाद्यान्नको मूल्य बढेसँगै सागपात र फलफूलसमेत सर्वसाधारणले खरिद गरेर खान नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।
केसीले घण्टौँसम्म लाइनमा बस्दा पनि ग्यास नपाइने तर अर्कोतर्फ कालोबजारी भइरहेको दाबी गरे । यस्तो अवस्थामा अनुगमन गर्ने निकाय मुकदर्शक बन्नु गैरजिम्मेवारपन भएको उनले टिप्पणी गरे ।
सरकारले मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिँदै उनले सरकारको मौनताले पीडित जनतालाई सडकमा आउनुपर्ने अवस्था सिर्जना गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया