एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

लोकपथ
7
Shares

काठमाडौं । एनसेलले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमा आधारित निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।

बाढीका कारण सञ्चार तथा सडक पूर्वाधार प्रभावित भएका क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले यस्तो सेवा सुरु गरेको हो ।

आपतकालीन अवस्थामा सञ्चार सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले युटेलस्याटको लो अर्थ अर्बिट (एलईओ) स्याटलाइटमा आधारित उपकरणहरू जडान गरिरहेको एनसेलले जनाएको छ ।

एनसेलका अनुसार सरकारी निकायसँगको समन्वयमा पहिचान गरिएका महत्वपूर्ण तथा आवश्यक स्थानमा उपकरण जडान भइरहेको छ ।

हालसम्म नुवाकोटका तीन महत्वपूर्ण स्थानमा स्याटलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा पनि जडान कार्य जारी छ ।

सामान्य इन्टरनेट तथा मोबाइल सेवा उपलब्ध नभएको अवस्थामा पनि यो प्रविधिमार्फत इन्टरनेट चलाउन सकिन्छ । जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट इन्टरनेट सिग्नल लिएर वरपरका क्षेत्रमा वाईफाईमार्फत सेवा उपलब्ध गराउनेछ ।

यो सेवाबाट बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपतकालीन कार्यस्थलमा रहेका व्यक्तिले सन्देश आदानप्रदान, इन्टरनेट कल, सूचना प्राप्ति, ब्राउजिङ तथा राहत कार्यको समन्वय गर्न सक्ने एनसेलले जनाएको छ ।

एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठले सडक र सञ्चार पूर्वाधार गम्भीर रूपमा प्रभावित भएका नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए ।

उनका अनुसार यसबाट उद्धार तथा राहत कार्यमा सहजता हुनुका साथै प्रभावित स्थानीयवासीलाई कठिन अवस्थामा आफन्त तथा सम्बन्धित निकायसँग सम्पर्कमा रहन सहयोग पुग्नेछ ।

एनसेलले उक्त सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?