भोटेकोशी-त्रिशूली बाढीलाई जलवायु संकटसँग जोडेर पुनर्निर्माण गर्न प्रलोपाको माग

लोकपथ
21
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिलाई प्राकृतिक विपत्तिमा मात्रै सीमित नगरी जलवायु संकट, अव्यवस्थित बस्ती र कमजोर विपद् पूर्वतयारीसँग जोडेर हेर्नुपर्ने बताएको छ ।

पार्टीका अध्यक्ष सन्तोष परियारद्वारा जारी विज्ञप्तिमा बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी कार्यलाई अन्तिम व्यक्तिको अवस्था यकिन नभएसम्म निरन्तरता दिन सरकारसँग आग्रह गरिएको छ ।

पार्टीले प्रभावित क्षेत्रमा राहत वितरणसँगै वैज्ञानिक भू–उपयोग, सुरक्षित बस्ती, प्रभावकारी पूर्वसूचना प्रणाली र जलवायु अनुकूल पूर्वाधारलाई प्राथमिकतामा राखेर पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएको छ। विज्ञप्तिअनुसार बाढीबाट सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, जलविद्युत् आयोजना, सञ्चार प्रणाली, कृषि तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।

नेपालको हरितगृह ग्यास उत्सर्जन न्यून भए पनि जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोगिरहेको भन्दै पार्टीले अन्तर्राष्ट्रिय समुदायसँग उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका साथै जलवायु अनुकूलन, प्रविधि हस्तान्तरण तथा क्षति र नोक्सानीको न्यायोचित सम्बोधनका लागि सहयोग गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?