राहत सामग्रीमा कैफियत : भिजेको चिउरा, घुन लागेको र ‘डेट एक्स्पायर’ चालमसम्म भेटियो

लोकपथ
49
Shares

काठमाडौं । भदौ १० को विनासकारी बाढीपछि रसुवा–नुवाकोट लगायतका क्षेत्रमा काठमाडौंबाट राहत लैजाने क्रम जारी छ ।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा संकलित कतिपय राहत सामग्रीमा समेत कैफियत भेटिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले राहत सामग्री राखिएका स्थानमा अनुमगन गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बागमती, थापाथली गोदाम, राधा स्वामी सत्सङ्ग, सामाखुसी र शहरी विकास तथा भवन निर्माण विभागमा अनुमगन गरिएको थियो ।

अनुगमनका क्रममा कतिपय खाद्य पदार्थको म्याद गुज्रिसकेको समेत पाइएको विभागकी प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जानकारी दिइन् ।

अनुगमनका क्रममा राधा कृष्ण सत्सङ्ग सामाखुसीमा राखिएको राहत सामग्रीमा कैफियत भेटियो । जहाँ राखिएको सगरमाथा एग्रो ट्रेडिङ वीरगञ्जबाट उत्पादित ‘जय हो’ ब्राण्डको दुई बोरा चामल उपभोग्य मिति समाप्त भएको पाइएको प्रवक्ता शर्माले बताइन् । यसैगरी प्लाष्टिकमा पोका बनाएर ल्याइएको ६ सय ३१ केजी खुला चामल घुन लागेको स्पष्ट देखिएको थियो । त्यति मात्र होइन कलश चिउरा उद्योग सप्तरीबाट उत्पादित २ बोरा चिउरा समेत भिजेको अवस्थामा रहेको थियो । राधाकृष्ण सत्सङ्गमा रहेका अन्य राहत सामग्रीको अवस्था सन्तोषजनक पाइएको प्रवक्ता शर्माले बताइन् ।

त्यहाँ कैफियत भेटिएका सामग्रीका सन्दर्भमा सम्बन्धित पक्षलाई कारबाही गरिने विभागले जनाएको छ ।

यसैगरी शहरी विकास तथा भवन निर्माण विभागमा अनुगमन गर्दा त्यहाँ तयारी चाउचाउ, सातु, पफ, भुजा, चिउरा, बिस्कुट, नुन, तोरीको तेल, आँटा लगायतका सामग्री राहतका लागि पठाउन ठिक्क पारेको देखियो ।

माथि उल्लेखित सबै खाद्य पदार्थको लेबलमा उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम, ठेगाना, उत्पादन तथा उपभोग्य मिति समाप्त नभएको पाइएको थियो । तर सोही स्थानमा राखिएको काभ्रेबाट उत्पादित राधाकृष्ण ब्राण्डको बिस्कुटको उपभोग्य मिति समाप्त भएको पाइएको थियो ।

उपभोग्य मिति समाप्त भएका ८ पोका बिस्कुटलाई अस्वीकार गरी एक्पायर जोनमा राखिएको छ । साथै खाद्य पदार्थको वितरण गर्दा असल वितरण अभ्यास गर्न समेत आग्रह गरिएको छ ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रदेश कार्यालय थापाथलीमा समेत विभागसहितको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा स्तरोन्नती गरिएको स्टिम जीरा मसिनो चामल, चामल, सूर्यमूखी तेल, आयोडिनयुक्त नुन राहतका लागि लैजान ठिक्क पारिएको थियो । तर ती खाद्य सामग्रीमा ब्याच नं, उत्पादन तथा प्याकेजिङ मिति, उद्योगको नाम र ठेगाना तथा उपभोग्य मिति समाप्त नभएको पाइएको प्रवक्ता शर्माले बताइन् । तर ती खाद्य सामग्री वितरणमा असल वितरण अभ्यास अनुसार गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?