काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाका स्थानीय तहलाई समेत समेटेर अन्तरनगर यातायात सञ्जाल विकास गर्ने तयारी गरेको हो ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन यातायातलाई व्यवस्थित र दिगो बनाउन उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरिने बताएकी छन् ।
महानगरपालिकाले १ वैशाख २०८३ देखि साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन यातायात सेवा सञ्चालन गर्दै आएको छ । उक्त सेवाको प्रभाव र विस्तारबारे अध्ययन गर्न गठित कार्यदलले महानगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।
महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तीन महिनाको परीक्षणकालीन सेवाको अध्ययन गरेको हो ।
प्रतिवेदनअनुसार तीन महिनाको अवधिमा ६६ हजार ९५२ जना यात्रुले रात्रिकालीन बस सेवा प्रयोग गरेका छन् । एउटा बसले दैनिक औसत १४२ जना यात्रु बोक्ने गरेको पाइएको छ ।
हाल एउटा बसबाट दैनिक औसत ३ हजार १३४ रुपैयाँ आम्दानी हुने गरेको छ । तर, बस सञ्चालनका लागि दैनिक करिब ४ हजार ८१४ रुपैयाँ खर्च हुने भएकाले एउटा बसमा दैनिक १ हजार ६९० रुपैयाँ घाटा भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनका क्रममा राति ८ देखि ९ बजेसम्म यात्रुको चाप सबैभन्दा बढी हुने गरेको पाइएको छ । यो समयमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर बढी यात्रा गर्ने गरेका छन् ।
रुटअनुसार थानकोट–एयरपोर्ट रुटमा ५१.५५ प्रतिशत र बुढानीलकण्ठ–लगनखेल रुटमा ४८.४५ प्रतिशत यात्रुको भार रहेको छ ।
रात्रिकालीन बस प्रयोग गर्ने यात्रुमध्ये ४७ प्रतिशतले ५ किलोमिटरभित्रको छोटो दूरी, ३२ प्रतिशतले मध्यम दूरी र २१ प्रतिशतले लामो दूरी यात्रा गर्ने गरेका छन् । छोटो दूरीको भाडा २० रुपैयाँ, मध्यम दूरीको २५ रुपैयाँ र लामो दूरीको ३० रुपैयाँ तोकिएको छ ।
हाल ७ वटा बस नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन भइरहेका छन् । कार्यदलले रात्रिकालीन सेवा विस्तार गर्दै बस संख्या २८ पुर्याउन सिफारिस गरेको छ ।
नयाँ प्रस्तावित रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दुवैतर्फ सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायुसेवा निगम रहेका छन् । यी रुटमार्फत उपत्यकाका प्रमुख अस्पताल, व्यापारिक केन्द्र र प्रमुख नाकालाई जोड्ने योजना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया