काठमाडौं । इन्जिनियर समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले आफूहरुले काम गरे पनि नकारात्मकता बढी फैलिएको गुनासो गरेका छन् ।
बाढीपछि नुवाकोटको माथिल्लो त्रिशूली थ्री ‘ए’ मा पुगेका सांसद ढकालले टनेलबाट उद्धारमा नेपालीकै बलमा ठूलो सफलता प्राप्त गरेको समेत दाबी गरेका छन् ।
फिल्डमा रहँदा सबैको सहयोग र सहकार्य भए पनि मिडियाले सहयोग नगरेको र नकारात्मकता फैलाइएको बताए । त्यस्तै पार्टीका शीर्ष नेताहरु समेत त्यसैको लहैलहैमा लागेको उनको आरोप छ ।
सम्बन्धित क्षेत्रका इन्जिनियरहरुले ढकालसहित अर्का सांसद समेत रहेका इन्जिनियर श्रीराम न्यौपानेको कारण उद्धारमा डिस्टर्ब भएको गुनासो गर्दै विज्ञप्ति निकालेका थिए । त्यसपछि पार्टीले उनीहरुलाई त्यहाँबाट फिर्ता आउन भनेको थियो ।
‘सकेको गर्यौँ । मानवीय हिसाबले आँशिक सफल भएपनि इन्जिनियरिङ हिसाबले विशुद्ध नेपालीको बलमा ठूलो सफलता देशले प्राप्त गरेको छ । फिल्डमा सबैको सहयोग थियो, सहकार्य थियो तर मिडियामा यति नकारात्मकता फैल्याइयो कि काम गर्न केही हदसम्म डिस्टर्ब चाँही भयो । सिनियर पार्टी लिडर शुद्ध मिडियाकै लहै लहैमा लाग्नु पर्यो,’ उनले भनेका छन् ।

यसैगरी अझै २४ घण्टा ढिलो भएको भएमा असफल हुन सक्ने बताए । फिल्डमा खटिँदा धेरै आलोचना खेपेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
‘अझै २४ घण्टा ढिलो भएको भए असफल पनि हुन सक्थ्यौँ , भगवानले अन्तिममा पुकार सुने, जोगाए । अनुरोधः देश साच्चै बनाउन मन छ भने सकिन्छ सकारात्मक सोचौँ सकिदैन फिल्डमा रातदिन खटिँदा घरभित्र बसेर मजाक कसैको पनि नगरौँ ।
सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया