सङ्खुवासभामा प्रधानाध्यापकको गोली हानी हत्या, एक जना पक्राउ

लोकपथ
2k
Shares

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ वालुङ चिर्खाङमा गोली हानी प्रधानाध्यापकको हत्या भएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको बिहीबार राति गोली हानी हत्या गरिएको हो ।

खाना खाएर हात धुन विद्यालयबाहिर निस्किएका बेला राईमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन ।

सिलिचोङ गाउँपालिका–५ याफु घर भएका राई सोही विद्यालयमा बस्दै आएका थिए । उनी करारमा एक वर्षदेखि प्रधानाध्यापकका रूपमा कार्यरत थिए ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउनुका साथै अनुसन्धान अघि बढाएको छ ।

कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि राईको शव जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?