भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना, अझै तीन दिन सतर्क रहन आग्रह

लोकपथ
42
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना छ । अन्य प्रभावित क्षेत्रमा भने मध्यम वर्षा हुनसक्ने उनले बताइन् ।

उनका अनुसार पछिल्लो ६ घण्टामा झापाको अनारमनी बिर्तास्थित मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ३४ मिलिमिटर वर्षा मापन भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा समेत भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा हावाहुरी चल्नसक्ने विभागले जनाएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

विभागले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?