काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा प्रारम्भिक रूपमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् ।
बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले बाढीबाट पर्यटन क्षेत्रका विभिन्न संरचना, व्यवसाय, सवारीसाधन तथा पदमार्गमा ठूलो क्षति पुगेको जानकारी दिए ।
उनका अनुसार बाढीले १ सय ४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १ सय ४१ वटा सवारीसाधनमा क्षति पुर्याएको छ । त्यस्तै, २७ वटा सम्पदा बाढीले बगाएको उनले बताए । मन्दिर, मस्जिद, गुम्बा तथा सन्धि शिलालगायतका धार्मिक तथा सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको मन्त्री पौडेलले जानकारी दिए ।
बाढीका कारण लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड, पार्वती कुण्ड, नाचेली लगायतका पर्यटकीय क्षेत्रमा जाने प्रमुख पदमार्गमा समेत क्षति पुगेको उनले बताए ।
मन्त्री पौडेलले पर्यटन क्षेत्रको क्षतिको विस्तृत विवरण संकलन गरी प्रतिवेदन पेश गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए । प्रारम्भिक मूल्यांकनमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति देखिएको र बाढीले भविष्यमा पर्यटन क्षेत्रमा पार्ने असरको समेत मूल्यांकन भइरहेको उनले बताए ।
बाढीपछि उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरलाई एकीकृत गरी एकद्वार प्रणालीबाट परिचालन गरिएको उनले जानकारी दिए । अहिले भने दैनिक पाँचवटा हेलिकप्टरलाई उडानको अनुमति दिइएको र त्यसबाहेक सरकारले आफ्नै हेलिकप्टर परिचालन गरिरहेको उनले बताए ।
बाढी प्रभावित पर्यटकलाई पोखरा, चितवन र काठमाडौंलगायतका स्थानका होटल व्यवसायीले निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरेको पनि मन्त्री पौडेलले जानकारी दिए ।
उनले रसुवा बाढी प्रभावित क्षेत्रलाई भविष्यमा ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने योजना रहेको बताए। प्रभावित क्षेत्रमा पार्क, मूर्ति, संग्रहालयलगायतका संरचना निर्माण गर्ने तयारी रहेको उनको भनाइ छ ।
जलवायु परिवर्तनका कारण रसुवामा आएको बाढीबाट नेपालले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले यस विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष समेत उठाउने बताए । चालु आर्थिक वर्षको बजेटमा हिमाललाई ‘ग्लोबल क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने र त्यसका लागि विश्व समुदायसँग स्वीकृति माग्ने विषय समेटिएको भन्दै उनले त्यसलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया