काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रका बीमितको बीमा दाबी छिटो र सहज रूपमा भुक्तानी गर्न निर्देशन दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको छलफलमा अर्थमन्त्री वाग्लेले बाढीबाट पीडितलाई बीमा कम्पनीले सहयोग गर्नुपर्ने बताएका हुन् ।
उनले बीमा दाबी भुक्तानीमा समस्या भए सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । बाढीका कारण ठूलो जनधनको क्षति भएकाले अहिले सबै पक्ष मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म बाढीका कारण ५८३ वटा बीमा दाबी परेको छ । ती दाबीको अनुमानित रकम २५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
बैठकले साना दाबीको रकम छिटो भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । कागजी प्रक्रियाका कारण भुक्तानीमा ढिलाइ नहोस् भनेर प्रक्रिया पनि सहज बनाइने भएको छ ।
जलविद्युत् आयोजना र ठूला पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले बीमितलाई तत्काल आवश्यक रकम पेस्कीका रूपमा उपलब्ध गराउने निर्णय पनि भएको छ ।
त्यस्तै, क्षतिको मूल्याङ्कन गर्न सर्भेयरलाई छिटो र पारदर्शी रूपमा खटाउने व्यवस्था गरिने भएको छ । बीमा दाबी भुक्तानीको दैनिक अनुगमन गर्न नेपाल बीमा प्राधिकरणमा विशेष कार्यदलसमेत गठन गरिने भएको छ ।
सरकारले राहत र उद्धारसँगै बाढीबाट भएको क्षतिको पुनर्निर्माणको तयारी गरिरहेको अवस्थामा बीमा दाबी छिटो भुक्तानी हुँदा प्रभावितलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया