‘रसुवा बाढीमा सरकार कहाँ छ, खोज्नुपर्ने अवस्था आयो’

लोकपथ
175
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् ।

सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बाढीपीडितका लागि पार्टी केन्द्रीय कमिटीले हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले सरकारको विपद् व्यवस्थापनप्रति असन्तुष्टि जनाएका हुन् ।

ओलीले विपद्पछि केन्द्रीय सरकार नै कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आएको टिप्पणी गरे । उनले रास्वपाका सांसद तथा मन्त्रीहरूप्रति लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने गरेको आरोप लगाए ।

उनले निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा परिचालन गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि जनाए । उद्धारका लागि तालिम प्राप्त जनशक्ति र हेलिकप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए उद्धार कार्य थप प्रभावकारी हुनसक्ने उनको भनाइ थियो ।

‘निजी हेलिकप्टर पनि उद्धार गर्न उत्सुक छन् । उद्धारका निम्ति ट्रेनिङ लिएका मान्छेहरू छन् । त्यस्ता मान्छेलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने धेरै काम गर्थे, तर प्रतिबन्ध लगाएर हेलिकप्टर रोकिएको छ,’ ओलीले भने ।

उनले सुरुङ तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकप्टरबाट मात्रै उद्धार सम्भव नहुने भन्दै त्यस्ता स्थानमा आवश्यक जनशक्ति र उपकरण परिचालन गर्नुपर्ने बताए ।

स्थानीयले आफन्तको खोजी गर्न पाउनुपर्ने माग गरिरहेको भए पनि सरकारले त्यसका लागि अनुमति नदिएको ओलीले दाबी गरे । ‘स्थानीयले हामीलाई कम्तीमा आफन्तहरू खोज्न देऊ न भनिरहेका छन् । सरकारले दिएको छैन,’ उनले भने ।

ओलीले एमालेका नेता–कार्यकर्ता तथा स्थानीय र प्रदेशका जनप्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार तथा राहतमा काम गरिरहेको दाबीसमेत गरे । उनले विपद्को अवस्थामा सरकारभन्दा पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधि बढी सक्रिय भएर काम गरिरहेको संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?