नुवाकोट पुगेर अर्थमन्त्रीको ढाडस– ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ’

लोकपथ
56
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको छ ।

उनी शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर पुगेका अर्थमन्त्री डा. वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिए ।

सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार र राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

उद्धारका साथसाथै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न र अन्य प्रकारका राहत वितरणमा पनि केन्द्रबाट काम भइरहेको जानकारी उहाँले दिए । सोही क्रममा उनले बाढीग्रस्त क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेको बताए ।

अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारबाट पूर्ण साथ र सहयोग रहने भन्दै कुनै पनि कुराको अभाव महसुस नगर्न र कुनै पनि खालको सहयोगका लागि निर्धक्क भएर समयमै भन्न नेपाली सेनालाई आग्रह गरे ।

त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र र राहत सामग्री सङ्कलन एवम् वितरण केन्द्रको निरीक्षण गरे ।

नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा आफ्ना परिवारका सदस्य फसेको भन्दै उनीहरूको उद्धारका लागि परिवारजनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराए । सो क्रममा अर्थमन्त्रीले नेपाली सेनाबाट भएको ब्रिफिङ उद्धृत गर्दै सुरुङमा फसेका नागरिकको उद्धार उच्च प्राथमिकतामा रहेको भन्दै परिवारजनलाई उद्धार हुने कुरामा नेपाली सेना र अन्य सुरक्षाकर्मीमाथी विश्वास गर्न आग्रह गरे ।

त्यसलगत्तै अर्थमन्त्री वाग्ले बाढीले ध्वस्त भएको नुवाकोटको ढुङ्गे बजार पुगे । त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उनले पीडित परिवारसँग क्षतिको अवस्था र सरकारले गर्नुपर्ने कामबारे सुझाव लिए ।

तत्पश्चात् अर्थमन्त्री वाग्ले बाढीले क्षतिग्रस्त बनेको ऐतिहासिक देवीघाट बजार पुगे । त्यहाँ पुगेर उनले बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्दै पीडामा रहेका स्थानीयलाई भेटेर सरकार साथमा रहेको ढाडस दिएको उनको सचिवालयले जनाएको छ ।

सरकारले हराएका आफन्तको खोजी, राहत, उपचार र पुनर्स्थापनामा कुनै कसर बाँकी नराखेको र आगामी दिनमा पनि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिवालयको अनुसार त्यसपछि उनले गल्छी–रसुवागढी सडकखण्ड अन्तर्गतको देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको अवलोकन गरे । सँगै, उनले तल्लो पिपलटारमा रहेको आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयहरूलाई भेटेर उनीहरूका समस्या सुनेको उनको सचिवालयले जनाएको छ ।

बाढीबाट बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयहरूसँग भेटघाट गरेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे पनि अर्थमन्त्रीले जानकारी लिए । उनीहरूलाई थप स्वास्थ्य लाभको कामना गर्दै अर्थमन्त्री वाग्लेले सरकारले उचित पुनर्स्थापना गर्ने बताए ।

साथै, स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि भेट गरेर अर्थमन्त्री वाग्लेले स्रोतसाधनको उपलब्धताबारे जानकारी लिए ।

त्यसपछि अर्थमन्त्री डा. वाग्ले र सञ्चारमन्त्री डा बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाको समन्वयका लागि छलफल गरे ।

जिल्ला समन्वय समितिको हलमा अर्थमन्त्रीको पहलमा बोलाइएको छलफलमा उनले केन्द्र सरकारबाट कुनै पनि खाले स्रोतको अभाव नहुने स्पष्ट पार्दै सबै जना एकजुट भएर विपद्पछिको प्रतिकार्यमा लाग्न आग्रह गरे ।

केन्द्र सरकारले सबैखाले स्रोत र साधन उपलब्ध गराउने भन्दै उनले आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोची जनतालाई विपद्‌मा कुनै पनि कुराको अभाव नहुने गरी काम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?