काठमाडौं । हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम भइरहेका बेला दुईवटा प्रसारण लाइनमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार बिहान ६ः४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन बन्द गरेर काम भइरहेको थियो। त्यस समयमा ढल्केबर हुँदै काठमाडौंसम्मको अर्को प्रसारण मार्गबाट विद्युत् आपूर्ति भइरहेको थियो ।
बिहान ८ः५२ बजे खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको पहिलो सर्किटको तार चुडिएपछि लाइन बन्द भयो । त्यसको करिब २६ मिनेटपछि बिहान ९ः१८ बजे दोस्रो सर्किटमा पनि समस्या आएपछि विद्युत् प्रसारण सम्पर्क टुटेको प्राधिकरणले जनाएको छ ।
दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको थियो ।
विद्युत् आपूर्ति छिटो सञ्चालन गर्न प्राधिकरणले वैकल्पिक प्रसारण मार्ग प्रयोग गरेको थियो। भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति गरिएको थियो ।
यसबाट बिहान ९ः४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनः सञ्चालन भएको प्राधिकरणले जनाएको छ ।
अहिले प्राविधिक टोलीले प्रसारण लाइनको स्थलगत निरीक्षण र मर्मतको काम गरिरहेको छ । समस्या पहिचान गरी प्रसारण प्रणालीलाई नियमित अवस्थामा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया