काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८२६ जना अझै बेपत्ता छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार बिहीबार बिहान सवा ८ बजेसम्मको विवरणमा बेपत्ता हुनेमध्ये ८५ जना सुरक्षाकर्मी रहेका छन् । तीमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन् ।
बेपत्ता हुने अन्य व्यक्तिमध्ये रसुवाका १६१ र नुवाकोटका १ जना रहेका छन् । यस्तै, ५७९ जना पर्यटक सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । सम्पर्कविहीन पर्यटकमध्ये ११३ जना नेपाली र ४६६ जना विदेशी छन् ।
मन्त्रालयका अनुसार हालसम्म १०४ जनाको सफल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ४३, नुवाकोटबाट ५८ र धादिङबाट ३ जना रहेका छन् ।
फेला परेका १६५ शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा ९, चितवनस्थित नारायणी नदी आसपासमा ६४ र नवलपरासी पश्चिममा ५ वटा शव फेला परेको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख पौडेलले फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेको जानकारी दिएका छन् ।
मन्त्रालयले विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट जारी गरिएका सूचनालाई मात्र विश्वास गर्न आम नागरिकलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया