काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागि अगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिए ।
लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भएपनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको समेत स्पष्ट पारे । उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरु थिए । कयौँ नेताहरु पनि थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ । आज कसलाई दोष देखाउने ? अब हामीले दोष देखाउने कुनै कुरा छैन । अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथि हो । ३५ वर्षको योजना ल्याउनुहोस् । अब वितेको ३५ वर्षको लागि उहाँहरु लाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे धन्यावाद । तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि ।’
उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरुले गरेका सकारातमक कामहरुप्रति धन्यावाद दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया