काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई मुख्यमन्त्री किरण थापा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
मुख्यमन्त्री थापाको दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने ह्वीप जारी गरेको प्रमुख सचेतक पुकार महर्जनले जानकारी दिए ।
मुख्यमन्त्री थापाले भदौ ८ गते (भोलि) दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
सो सम्बन्धमा आवश्यक निर्देशन दिँदै कांग्रेसले बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नरहन र मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको हो ।
‘…किरण थापा मगरज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम बागमती प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची रहेकोले उक्त बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र माननीय मुख्यमन्त्रीज्यूले पेश गर्नुहुने प्रस्तावको विपक्षमा मतदान गर्न यो ह्वीप जारी गर्दछु,’ प्रमुख सचेतक महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि एमालेको समर्थनमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ प्रदेशको मुख्यमन्त्री रहेका थिए । तर एमालेले समर्थन फिर्ता लिएसँगै बानियाँ नेतृत्वको सरकार ढलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया