साउनमै खस्कियो विदेशी लगानीको प्रतिबद्धता, २४ अर्बबाट झर्‍यो ३ अर्बमा

लोकपथ
21
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता घटेको छ । साउनमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार साउनमा १ सय ९१ वटा उद्योग तथा परियोजनामार्फत उक्त लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्षको साउनमा भने १ सय २७ परियोजनाका लागि २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको थियो ।

गत वर्षको तथ्यांक ठूलो हुनुको मुख्य कारण चीनमा भैँसीको मासु निर्यात गर्ने ‘प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री’ परियोजना हो । उक्त परियोजनाका लागि मात्रै २० अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

यस वर्ष साउनमा परियोजनाको संख्याका हिसाबले सूचना प्रविधि क्षेत्र अगाडि छ । यस क्षेत्रमा १ सय २८ वटा उद्योग दर्ता भएका छन् । तर, लगानी प्रतिबद्धता भने ५६ करोड ९८ लाख रुपैयाँ मात्रै छ ।

पर्यटन क्षेत्रमा ३३ वटा उद्योग दर्ता भएका छन् । यी परियोजनाका लागि १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, सेवामूलक क्षेत्रमा १९ वटा परियोजना दर्ता भएका छन् । यस क्षेत्रका लागि ६८ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रमा ९ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगका लागि ८४ करोड ३२ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । कृषि र ऊर्जा क्षेत्रमा भने साउनमा एक–एकवटा मात्रै उद्योग दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?