काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट गरेको छ ।
बैंकले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ भदौ १ गते बाँडफाँट गरेको हो ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरी ३ अर्ब रुपैयाँ संकलन गरेको हो ।
कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता ऋणपत्र विभिन्न संघसंस्थाका लागि छुट्याइएको थियो । यसको मूल्य १ अर्ब ८० करोड रुपैयाँ बराबर हुन्छ । त्यस्तै, ४० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको थियो, जसको मूल्य १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
सर्वसाधारणतर्फ छुट्याइएको ऋणपत्रको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी हिस्सा सार्वजनिक निष्कासनमार्फत बिक्री गरिएको बैंकले जनाएको छ ।
ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापन माछापुच्छ्रे क्यापिटल लिमिटेडले गरेको हो ।
बैंकका अनुसार ऋणपत्रमा लगानी गर्नेले प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो ६ महिना पूरा भएपछि प्रचलित नियमअनुसार कर कट्टी गरी ब्याज प्राप्त गर्नेछन् ।
दीर्घकालीन लगानीका लागि आवश्यक वित्तीय स्रोत जुटाउने उद्देश्यले बैंकले उक्त ऋणपत्र जारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया