हिमालय बैंकको नाफा १ अर्ब ४८ करोड रुपैयाँ, प्रति शेयर आम्दानी कति ?

लोकपथ
56
Shares

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ हजार ४१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ थियो ।

बैंकको नाफा वृद्धिमा प्रोभिजनिङ घट्नु मुख्य कारण देखिएको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँ मात्रै प्रोभिजनिङ गरेको छ ।

यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १५.७३ प्रतिशतले घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ४५ करोड ५६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकको सञ्चालन नाफा २३।६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३ अर्ब ४३ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६ करोड २१ लाख ९६ हजार रुपैयाँ पुगेको छ । तर, वितरणयोग्य नाफा भने ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

चौथो त्रैमाससम्म बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

बैंकको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.२३ प्रतिशत कम हो ।

बैंकको खराब कर्जा अनुपात सामान्य घटेको छ । अघिल्लो वर्ष ७.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आर्थिक वर्षमा घटेर ७.९६ प्रतिशतमा आएको छ ।

त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ६.५६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७.४८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?