इमाडोलमा भायानेटको नयाँ शाखा, फाइबर मर्मतदेखि ग्राहक सेवासम्म

लोकपथ
0
Shares

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोलमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ ।

ग्राहकको संख्या बढ्दै गएपछि भायानेटले इमाडोलको राता मकै चोकमा पहिलेभन्दा ठूलो र सुविधासम्पन्न शाखा विस्तार गरेको हो। नयाँ शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

नयाँ शाखाबाट ग्राहकहरूले इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी र ग्राहक सेवासँगै प्राविधिक सहायता पनि स्थानीय रूपमा पाउनेछन् । त्यस्तै, फिल्ड सपोर्ट र फाइबर मर्मतसम्भारका लागि प्राविधिक टोलीसमेत यही शाखाबाट परिचालन हुनेछन् ।

यसले इमाडोल तथा आसपासका ग्राहकलाई आवश्यक सेवा छिटो र सहज रूपमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

भायानेटका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले नयाँ शाखाबाट ग्राहकलाई पहिलेभन्दा छिटो र प्रभावकारी सेवा दिन सकिने बताए ।

उनले इमाडोलका ग्राहकसँग लामो समयदेखि जोडिएर सेवा दिँदै आएको भन्दै नयाँ शाखाको विस्तारले ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धता अझ बलियो बनाएको बताए ।

भायानेटका अनुसार अहिले इन्टरनेट शिक्षा, घरबाट गरिने काम, व्यवसाय, डिजिटल भुक्तानी तथा मनोरञ्जनका लागि आवश्यक सेवा बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?