काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा कोष र सञ्चित आम्दानीमा उल्लेख्य वृद्धि भएको पाइएको छ ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार जीवन बीमा कोष बलियो तथ्यांकले देखाएको छ ।
बीमा कोषलाई कम्पनीको मुख्य आधार मानिन्छन् । कम्पनीको अघिल्लो वर्ष ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ रहेको बीमा कोष १६.२१ प्रतिशतले बढेर ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
तर यस अवधि बैंकको नाफामा भने अघिल्लो वर्षको तुलनामा कमी आएको छ । कम्पनीले समीक्षा अवधिमा ३१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षमा कमाएको ५४ करोड ६९ लाख रुपैयाँको तुलनामा ४१.९० प्रतिशत कम हो । नाफामा आएको गिरावटसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ९८ पैसाबाट घटेर ३ रुपैयाँ ४८ पैसामा झरेको छ ।
यस्तै, कम्पनीको रिटेन्ड अर्निङ ४८.८७ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । महाविपत्ति जगेडा कोष पनि बढेर ४७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
व्यवसाय विस्तारसँगै कम्पनीको खुद बीमा शुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा बढेर खुद बीमा शुल्क आर्जन १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।
तर, कुल आम्दानी भने ३.५९ प्रतिशतले घटेर २४ अर्ब ५० करोड ९ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल खर्चमा भने सामान्य सुधार देखिएको छ। कुल खर्च ०.६९ प्रतिशतले घटेर २३ अर्ब ६७ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।
यस अवधिमा बीमा दाबी भुक्तानी भने बढेको छ । कम्पनीले कुल ७ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.९२ प्रतिशत बढी हो। अभिकर्ता कमिसन खर्च पनि ४.२० प्रतिशतले बढेर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँमा स्थिर रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ३१ पैसा कायम छ। यता, सोल्भेन्सी मार्जिन अनुपात भने ३.८६ प्रतिशतबाट घटेर १.३२ प्रतिशतमा आएको छ ।
यसरी हेर्दा समीक्षा अवधिमा हिमालयन लाइफको नाफामा दबाब देखिए पनि बीमा कोष, रिटेन्ड अर्निङ र बीमा शुल्क आर्जनमा भएको वृद्धिले कम्पनीको व्यवसायिक आधार विस्तार भइरहेको संकेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया