काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास र उद्योग–शैक्षिक सहकार्यका लागि पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार दुवै संस्थाले विद्यार्थी, उद्योग, स्टार्टअप, लगानीकर्ता र नीतिनिर्माताबीच सहकार्य बढाउनेछन् । यसअन्तर्गत तालिम, कार्यकारी शिक्षा, स्टार्टअप प्रवद्र्धन, लगानी प्रोत्साहन, अनुसन्धान र नीतिगत अध्ययनलगायतका काम संयुक्त रूपमा गरिनेछ ।
चेम्बरले विश्वविद्यालयका विद्यार्थीलाई इन्टर्नशिप र रोजगारीमा सहयोग गर्ने, अनुसन्धान कोष तथा छात्रवृत्ति स्थापना गर्न सहयोग गर्ने र उद्योग क्षेत्रका अनुभवी व्यक्तिलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयमा जोड्नेछ ।
त्यस्तै, बागमती विश्वविद्यालयले तालिम तथा कार्यकारी शिक्षा सञ्चालन गर्ने, स्टार्टअप र नवप्रवर्तनका लागि परामर्श दिने तथा उद्योगसँग सम्बन्धित अनुसन्धानलाई अघि बढाउनेछ । विश्वविद्यालयले सेमिनार, नीति संवाद र सम्मेलन पनि आयोजना गर्नेछ ।
चेम्बर अध्यक्ष अग्रवालले विश्वविद्यालयले रोजगारी खोज्ने जनशक्ति मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमी उत्पादन गर्नुपर्ने बताए । उनले शिक्षा, उद्योग र नवप्रवर्तनलाई जोड्न यस्तो सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे ।
विश्वविद्यालयका अध्यक्ष पौडेलले सम्झौताले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्न, अनुसन्धानलाई व्यवहारिक बनाउन तथा नयाँ स्टार्टअप र नवप्रवर्तनका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताए ।
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ । दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया