सर्वोत्तम सिमेन्टको खुद नाफा १ अर्ब १० करोड नाघ्यो

लोकपथ
0
Shares

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताका बीच सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षमा खुद नाफा ७.७ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले एक अर्ब १० करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा करिब एक अर्ब दुई करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन आम्दानीसमेत बढेको छ । अघिल्लो आर्थिक वर्षमा नौ अर्ब ५३ करोड रुपैयाँको हाराहारीमा रहेको कुल सञ्चालन आम्दानी गत आर्थिक वर्षमा बढेर १० अर्ब २५ करोड रुपियाँभन्दा बढी पुगेको छ ।

त्यस्तै, कम्पनीको कुल बिक्री नाफा दुई अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यद्यपि सिमेन्ट उत्पादनसँग सम्बन्धित लागत भने बढेको छ । अघिल्लो वर्ष सात अर्ब ५२ करोड रुपियाँ रहेको कस्ट अफ सेल्स गत आर्थिक वर्षमा बढेर सात अर्ब ९३ करोड रुपियाँ पुगेको छ ।

कम्पनीले व्यापार विस्तारसँगै प्रशासनिक तथा बिक्री प्रवर्धनमा हुने खर्च पनि बढाएको छ । गत आर्थिक वर्षमा प्रशासनिक खर्च २५ करोड रुपैयाँ र बजार प्रवर्धन तथा बिक्री वितरणमा ६५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । अघिल्लो आर्थिक वर्षमा यी शीर्षकमा क्रमशः करिब २२ करोड र ३३ करोड रुपैयाँ खर्च भएको थियो ।

मुख्य कारोबारबाहेक अन्य स्रोतबाट हुने आम्दानी पनि बढेर १७ करोड ६९ लाख रुपैयाँ पुगेको छ । आम्दानी तथा खर्चको समायोजनपछि कम्पनीको कुल खर्च एक अर्ब १५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

कम्पनीको चुक्ता पुँजी पाँच अर्ब २२ करोड रुपैयाँभन्दा बढी छ । जगेडा तथा अन्य इक्विटीमा चार अर्ब ८७ करोड रुपियाँभन्दा बढी रकम रहेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपियाँ २० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपियाँ ८२ पैसा पुगेको छ ।

निर्माण क्षेत्रको मागमा सुस्तता र बजारमा बढ्दो प्रतिस्पर्धाका बाबजुद नाफा तथा सञ्चालन आम्दानीमा भएको वृद्धिले कम्पनीको वित्तीय अवस्था सुधारोन्मुख रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?