अर्थ र उद्योग मन्त्रालयको क्यान्टिन नै फोहोर, अनुगमनपछि विभागले दियो यस्तो निर्देशन

लोकपथ
21
Shares

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित दुई चमेना गृह खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरेको पाइएपछि कारबाहीमा परेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गरेको अनुगमनका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेको ‘किशु चमेना गृह’ र अर्थ मन्त्रालयमा रहेको ‘मनकामना आरएसजेभी चमेना गृह’मा कैफिएत भेटिएको हो ।

अनुगमनका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस्थित किशु चमेना गृहको भान्सा साँघुरो रहेको तथा केही खाद्य पदार्थ खुला स्थानमा तयार गर्ने गरिएको पाइएको विभागले जनाएको छ । भान्सामा निकासको उचित व्यवस्था नभएको र सरसफाइसमेत सामान्य रहेको पाइएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् ।

यद्यपि, चमेना गृहमा प्रयोग भइरहेको तेलको गुणस्तर परीक्षण गर्दा टीपीएम ९.५ रहेको र मापदण्डअनुकूल नै रहेको पाइएको विभागले जनाएको छ ।

विभागले किशु चमेना गृहलाई खाद्य स्वच्छता मापदण्ड पूर्ण रुपमा पालना गर्न, भौतिक तथा संरचनात्मक सुधार गर्न र नियमित सरसफाइको व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

साथै, सुधार गरेको प्रमाणसहित ७ दिनभित्र विभागमा उपस्थित हुन पनि निर्देशन दिइएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयमा रहेको मनकामना आरएसजेभी चमेना गृहमा पनि अनुगमनका क्रममा कैफिएत भेटिएको छ । त्यहाँ भान्साको सरसफाइ र कीट नियन्त्रणको अवस्था सामान्य रहेको पाइएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ प्रयोग नगरिएको र त्यस्ता सामग्री भण्डारण कक्षमा पनि फेला नपरेको विभागले जनाएको छ ।

विभागले उक्त चमेना गृहलाई खाद्य स्वच्छता कायम गर्न, सरसफाइलाई थप प्रभावकारी बनाउन तथा कीट नियन्त्रणको व्यवस्था सुधार गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?