नाइमा एक्स्पोमा सार्वजनिक भयो ‘अल्ट्राभायोलेट एक्स४७’, कति पर्छ मूल्य ?

लोकपथ
14
Shares

काठमाडौं । प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली बजारमा नयाँ क्रसओभर मोटरसाइकल ‘एक्स४७’ सार्वजनिक गरेको छ ।

वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा एक्स४७ सार्वजनिक गरेको हो ।

नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीका अनुसार क्रसओभर डिजाइनमा तयार गरिएको यो मोटरसाइकल दैनिक यात्रा, लामो दूरी तथा एड्भेन्चर राइडिङलाई लक्षित गरी ल्याइएको हो ।

एक्स४७ मा आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई प्राथमिकता दिइएको कम्पनीको दाबी छ । नयाँ मोडल सार्वजनिक भएसँगै नेपाली बजारमा अल्ट्राभायोलेटका इलेक्ट्रिक मोटरसाइकलको विकल्प थपिएको छ ।

यसअघि वैद्यज अर्गनाइजेशनले अल्ट्राभायोलेटका एफ–७७ ओरिजिनल र एफ–७७ रिकनको बुकिङ खुला गरिसकेको छ । एफ–७७ ओरिजिनलको सुरुआती मूल्य ८ लाख ११ हजार रुपैयाँ र एफ–७७ रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकिएको थियो ।

एफ–७७ मा १०।३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ । कम्पनीका अनुसार यसले पूर्ण चार्जमा ३२३ किलोमिटर आईडीसी रेन्ज दिन्छ भने अधिकतम १०० एनएम टर्क उत्पादन गर्छ ।

यसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति २.८ सेकेन्डमै लिन सक्ने तथा अधिकतम १५५ किलोमिटर प्रतिघण्टाको गति हासिल गर्ने कम्पनीले जनाएको छ । मोटरसाइकलमा ट्र्याक्सन कन्ट्रोल सिस्टमसमेत उपलब्ध छ ।

मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै एफ–७७ को मूल्य हाल १० लाख ५० हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीका अनुसार यो एक्स्पो अवधिका लागि मात्र लागू हुने विशेष मूल्य हो र एक्स्पोपछि मूल्य बढ्नेछ ।

नयाँ एक्स४७ मार्फत अल्ट्राभायोलेटले दैनिक प्रयोगदेखि लामो दूरी र एड्भेन्चर राइडिङसम्मका लागि उपयुक्त इलेक्ट्रिक मोटरसाइकलको विकल्प नेपाली उपभोक्तामाझ विस्तार गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?