एथरको नयाँ Ather 450X Overtones Series सार्वजनिक

लोकपथ
7
Shares

काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नयाँ एथर ४५० एक्स ओभरटोन्स सिरिज सार्वजनिक गरेको छ ।

आजबाट सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ एक्स्पोमा एथरले नयाँ स्कुटरसँगै ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भ्वाइस अन एथर’ जस्ता नयाँ प्रविधिसमेत प्रदर्शनमा राखेको छ ।

नयाँ ४५० एक्स ओभरटोन्सले एथरको ४५० सिरिजको परिचित तीक्ष्ण र आधुनिक डिजाइनलाई निरन्तरता दिँदै नयाँ रंग र डिजाइन प्रस्तुत गरेको छ ।

‘स्टिल ह्वाइट’, ‘स्पेस ग्रे’ र ‘लुनार ग्रे’ गरी तीन रंगमा उपलब्ध हुने यो सिरिजमा स्कुटरको बाहिरी डिजाइनसँग मेल खाने रंग र बनावट प्रयोग गरिएको छ । कम्पनीले यसलाई प्रदर्शनमुखी विद्युतीय स्कुटरको डिजाइनलाई अझ परिष्कृत गर्ने प्रयासका रूपमा अघि सारेको छ ।

नयाँ प्रविधिमध्ये ‘म्याजिक ट्विस्ट’ दैनिक सहरको आवतजावतलाई सहज बनाउने सुविधाका रूपमा आएको छ । यसमार्फत चालकले थ्रोटललाई पछाडितर्फ घुमाएर स्कुटरको गति घटाउन सक्छन् । विद्युतीय मोटरमार्फत गति कम गर्दा पुनः ऊर्जा सञ्चित हुने भएकाले यसले ब्रेकको प्रयोग घटाउनुका साथै ऊर्जा पुनःप्राप्तिमा पनि सहयोग गर्ने कम्पनीले जनाएको छ । विशेषगरी बारम्बार रोकिनुपर्ने र चल्नुपर्ने सहरको ट्राफिकमा यो सुविधा उपयोगी हुने कम्पनीको दाबी छ ।

त्यस्तै, ‘इन्फिनिट क्रुज’ लामो दूरी वा तुलनात्मक रूपमा स्थिर गतिमा यात्रा गर्दा चालकलाई सहजता दिने सुविधाका रूपमा प्रस्तुत गरिएको छ । यसले लगातार थ्रोटल समातिरहनुपर्ने आवश्यकता घटाउँदै निश्चित गति कायम राख्न सहयोग गर्छ ।

एथरले ४५० सिरिजमा ‘एथरस्ट्याक ७.०’ मा आधारित ‘भ्वाइस अन एथर’ पनि ल्याएको छ । मिल्ने ब्लुटुथ हेडसेट वा स्मार्ट हेल्मेटमार्फत चालकले आवाजकै माध्यमबाट गन्तव्य खोज्ने, नेभिगेसन सुरु गर्ने, चार्जिङ स्टेसन पत्ता लगाउने तथा उपलब्ध स्कुटर सेटिङ नियन्त्रण गर्न सक्नेछन् । यसले सवारी चलाउँदा ड्यासबोर्डमा पटक–पटक ध्यान दिनुपर्ने आवश्यकता कम गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

चार्जिङतर्फ पनि एथरले नयाँ ६ किलोवाटको फास्ट चार्जर प्रदर्शनमा ल्याएको छ ।

कम्पनीका अनुसार यसले करिब १० मिनेटमा ३० किलोमिटरसम्मको थप यात्रा गर्न पुग्ने ऊर्जा दिन सक्छ । नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा चार्जिङ पूर्वाधार विस्तारलाई पनि आफ्नो व्यवसायको महत्वपूर्ण हिस्सा बनाउँदै आएको एथरको यो कदम त्यसैको निरन्तरता देखिन्छ ।

नेपालमा एथर ४५० सिरिजको सुरुवाती मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ भने रिज्टा सिरिजको सुरुवाती मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ रहेको छ । नयाँ ४५० एक्स ओभरटोन्स सिरिज भने ११ अगस्ट मंगलबारदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एक्स्पोमा एथरले आफ्नो उत्पादन प्रदर्शनसँगै ग्राहक आकर्षित गर्ने उद्देश्यले ‘एथर गिभअवे’ अभियानलाई पनि निरन्तरता दिएको छ ।

एथरको आधिकारिक सामाजिक सञ्जाल पछ्याएर एक्स्पोमा रहेको स्टलमा स्कुटरसँग फोटो खिची सामाजिक सञ्जालमा पोस्ट गर्ने सहभागीमध्ये एक जनाले नयाँ एथर स्कुटर जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

नेपाल मोबिलिटी एक्स्पोको हल सी, स्टल सी२ मा रहेको एथरको प्रदर्शनीस्थलमा आगन्तुकले नयाँ ४५० एक्स ओभरटोन्ससँगै कम्पनीका प्रविधि र चार्जिङ प्रणालीबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले ४५० सिरिजले सुरुदेखि नै प्रदर्शन क्षमतालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै नयाँ ओभरटोन्स, म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस अन एथरले दैनिक सवारीलाई थप सहज बनाउने बताए । उनका अनुसार नयाँ फास्ट चार्जरसहित एथरले नेपाली बजारमा विद्युतीय सवारीको प्रयोगलाई प्रविधि र पूर्वाधार दुवै हिसाबले विस्तार गर्ने प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?