जीडीपीमा मोबिलिटी क्षेत्रको योगदान ७ प्रतिशत, १२ लाखभन्दा बढीलाई रोजगारी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताएका छन् ।

नाइमा मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले मोबिलिटी क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नभई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताएका हुन् ।

उनका अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा मोबिलिटी क्षेत्रको योगदान करिब सात प्रतिशत रहेको छ । यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।

मोबिलिटी क्षेत्र बैंकिङ, बीमा, पर्यटन, निर्माण तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रसँग प्रत्यक्ष रूपमा अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अग्रवालले यसको विकासले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

अर्थतन्त्रमा देखिएको शिथिलताप्रति चिन्ता व्यक्त गर्दै उनले सरकारका नियमनकारी नीतिका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको बताए । डेढ लाखभन्दा बढी उद्यमी–व्यवसायी कालोसूचीमा पर्नु तथा घरजग्गा, सेयर बजार र उत्पादनमूलक उद्योग सुस्ताउनु नीतिगत कमजोरीको परिणाम भएको उनको तर्क छ ।

नेपालको कुल लगानीमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको भन्दै उनले नयाँ नीति तथा नियम ल्याउनुअघि त्यसले निजी क्षेत्रमा पार्ने प्रभावको वस्तुगत मूल्याङ्कन गर्नुपर्ने बताए ।

‘नेपालको लगानीमा ८१ प्रतिशत हिस्सा निजी क्षेत्रको छ । त्यसैले कुनै पनि नयाँ नीति वा नियम ल्याउनुअघि त्यसले निजी क्षेत्रमा पार्ने प्रभावको वस्तुगत मूल्याङ्कन (इम्प्याक्ट एसेसमेन्ट) हुन जरुरी छ,’ उनले भने ।

विगतमा आर्जन गरेको सम्पत्तिको स्रोत देखाउन नसकेको विषयमा हुने प्रहरी प्रशासनको सोधपुछले बजारमा त्रास सिर्जना गरेको उनको भनाइ थियो । यस्ता कानुनी जटिलता र व्यावहारिक अड्चन तत्काल समाधान नगरे आर्थिक विस्तार सम्भव नहुने उनले बताए ।

अग्रवालले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थाले व्यवसायी तथा सर्वसाधारणमा त्रास सिर्जना गरेको विषयसमेत उठाए । वि।सं। २०६४ भन्दा अगाडि आर्जन गरेको वैधानिक सम्पत्तिको अभिलेखीकरण नभएका कारण हाल सवारीसाधन खरिद गर्दा स्रोत खोजिने प्रक्रियाले आर्थिक गतिविधि संकुचित बनाएको उनले बताए ।

विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै अग्रवालले आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स तथा विद्युतीय सवारी प्रविधिले विश्व अर्थतन्त्रको स्वरूप परिवर्तन गरिरहेको बताए ।

नाइमा मोबिलिटी एक्स्पोले नेपाललाई यस्ता नवीन प्रविधि आत्मसात गर्दै भविष्यका लागि तयार हुन महत्वपूर्ण सन्देश दिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?