व्यवसाय डिजिटल बनाउन ‘पठाओ कमर्स’ सुरु : च्याट, अर्डर, इन्भेन्ट्री र डेलिभरी एउटै सिस्टममा

लोकपथ
0
Shares

काठमाडौं । पठाओले नेपाली अनलाइन व्यवसायीलाई लक्षित गर्दै ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ‘पठाओ कमर्स’ मार्फत अनलाइन व्यवसायका दैनिक कामहरू एउटै प्रणालीबाट व्यवस्थापन गर्न सकिन्छ । सामाजिक सञ्जाल, अर्डर, सामानको स्टक, वेबसाइट र डेलिभरी व्यवस्थापन गर्न यो प्रणाली प्रयोग गर्न सकिनेछ ।

यसमा फेसबुक र ह्वाट्सएपका मेसेज एउटै इनबक्समा हेर्न सकिनेछ । ग्राहकसँग कुराकानी गर्दागर्दै अर्डर लिन र ती सामान पठाओ पार्सलमार्फत नेपालभर पठाउन सकिने कम्पनीले जनाएको छ । आगामी दिनमा इन्स्टाग्राम र टिकटकलाई समेत प्रणालीमा जोड्ने तयारी छ ।

व्यवसायीले दराज एप, आफ्नै वेबसाइट तथा अन्य अनलाइन स्टोरलाई पनि पठाओ कमर्समा जोड्न सक्नेछन् । यसबाट विभिन्न माध्यमबाट आएका अर्डर र सामानको स्टक एउटै ड्यासबोर्डबाट व्यवस्थापन गर्न सकिनेछ । शपिफाई र वु–कमर्सलाई पनि चाँडै जोड्ने कम्पनीको भनाइ छ ।

पठाओ कमर्समार्फत व्यवसायीले निःशुल्क वेबसाइट बनाउन र आफ्नो अनलाइन स्टोरलाई पठाओ शपमा राख्न सक्नेछन् । वेबसाइट, सामाजिक सञ्जाल र पठाओ शपबाट आएका अर्डरलाई एउटै ठाउँबाट व्यवस्थापन गरी पठाओ पार्सलमार्फत डेलिभरी गर्न सकिनेछ ।

यो सेवा सामाजिक सञ्जालमार्फत व्यापार गर्ने व्यवसायी, दराजका बिक्रेता, साना तथा मझौला व्यवसाय र नयाँ नेपाली ब्रान्डलाई लक्षित गरिएको छ।

कम्पनीले पहिलो १ हजार व्यवसायलाई चालु आर्थिक वर्षभर यो सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । नयाँ दर्ता गर्ने व्यवसायीले ३० दिनसम्म निःशुल्क परीक्षण गर्न सक्नेछन् ।

त्यसपछि पठाओ कमर्स प्रयोग गर्न मासिक ४ हजार ९ सय ९९ रुपैयाँ वा वार्षिक ४९ हजार ९ सय ९९ रुपैयाँ शुल्क लाग्नेछ । कम्पनीका अनुसार यस्तै प्रकारका अन्य डिजिटल प्रणालीको वार्षिक बजार मूल्य १ लाख ५० हजार रुपैयाँभन्दा बढी पर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?