साउन २९ देखि कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने

लोकपथ
252
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म हुने नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी दिएका छन् ।

शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले न्यायिक पुनरावलोकनको अनुमति दिएको निर्णयको स्वागत गर्दै यसले पार्टीभित्र सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् ।

उनका अनुसार पूर्वसभापति देउवाका तर्फबाट दायर गरिएको न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले २०८३ साउन २१ गते पुनरावलोकनको अनुमति दिएको हो । उनले आगामी न्यायिक प्रक्रियाबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको उल्लेख गरे ।

कोइरालाले सर्वोच्चको निर्णयले राष्ट्रिय भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने, बरु कार्यकर्तामा थप उत्साह र ऊर्जा थप्ने दाबी गरे । उनले सुरुमा १० देखि २० हजार जनाको सहभागिता हुने अनुमान गरिए पनि पछिल्लो निर्णयपछि भेलामा अझ उल्लेख्य उपस्थिति रहने विश्वास व्यक्त गरे ।

भेलाबारे प्रष्ट पार्दै उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउन राष्ट्रिय भेला महत्त्वपूर्ण हुने बताए ।

उनले पूर्णबहादुर खड्का स्वास्थ्य समस्याका कारण तथा डा. शेखर कोइराला विराटनगरमा पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेकाले उपस्थित हुन नसक्ने जानकारी दिँदै अभियानप्रति दुवै नेताको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको बताए ।

साउन २६ गते पूर्वसभापति देउवा स्वदेश फर्किने क्रममा सम्भावित धरपकडबारे उठेका आशंकाप्रति प्रतिक्रिया दिँदै कोइरालाले त्यस्तो कुनै सम्भावना नरहेको बताए । यदि त्यसप्रकारको कदम चालिए पार्टीले कडा प्रतिवाद गर्ने उनको चेतावनी थियो ।

उनले आफू पूर्वसभापति देउवालाई भेट्न हङकङ नगएको पनि स्पष्ट पारे ।

कोइरालाले नेपाली कांग्रेसका भ्रातृ संस्था, शुभेच्छुक तथा सम्पूर्ण कार्यकर्तालाई साउन २९–३१ गते हुने राष्ट्रिय भेलामा सहभागी हुन आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तका आधारमा पार्टीलाई नयाँ ऊर्जा र दिशा दिने संकल्प व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?