‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

लोकपथ
7
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइलाई थप प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गरी ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणाली’ का रूपमा विस्तार गर्ने तयारी गरेको छ ।

हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाका अनुसार यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको छ । प्रस्तावअनुसार फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट प्राप्त हुने गुनासालाई एउटै डिजिटल पोर्टलमार्फत व्यवस्थापन गरिनेछ ।

नयाँ प्रणाली लागू भएपछि सेवाग्राहीले हेलो सरकारमार्फत सम्बन्धित कार्यालयमा सिधै गुनासो दर्ता गर्न र कारबाहीको अवस्थाबारे जानकारी लिन सक्नेछन् । सम्बन्धित निकायमा सिधै गुनासो गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था पनि गरिनेछ । गुनासोको प्रगति अनुगमन र सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया पनि एउटै प्लेटफर्मबाट सञ्चालन हुनेछ ।

सरकारी कल सेन्टरलाई समेत अन्तरआबद्ध गर्ने योजना रहेको छ । निःशुल्क टेलिफोन नम्बर ११११ मा प्राप्त गुनासालाई विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाइने व्यवस्था प्रस्ताव गरिएको छ । यदि सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा उक्त कल पुनः हेलो सरकारमै फर्कने व्यवस्था गरिनेछ ।

प्रस्तावित प्रणालीमा सेवाग्राहीले यसअघि गरेका गुनासाको विवरण, समाधानको अवस्था तथा अभिलेख हेर्न सक्नेछन् । एउटै व्यक्तिले एउटै विषयमा पटक–पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासाका रूपमा व्यवस्थापन गरिने व्यवस्था पनि गरिएको छ ।

सरकारले हालै तयार पारेको ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ ले संघ, प्रदेश र स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने प्रस्ताव गरेको छ । दिग्दर्शनअनुसार अत्यावश्यक गुनासा २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासा १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

गुनासो समाधान भएपछि प्रणालीमार्फत सेवाग्राहीलाई जानकारी गराइने र गुनासोकर्ताबाट पृष्ठपोषण प्राप्त भएपछि मात्रै गुनासो फर्छ्यौट भएको मानिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

एक वर्षमै ३२१ प्रतिशतले बढे गुनासा

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशतले गुनासा बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा दर्ता भएकामा २०८२/८३ मा यो संख्या बढेर ६९ हजार ७२४ पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उपसचिव सापकोटाले वर्तमान सरकार गठनपछि गुनासो उल्लेख्य रूपमा बढ्नु सरकारप्रतिको नागरिकको विश्वास र अपेक्षाको संकेत भएको बताए । पछिल्ला पाँच आर्थिक वर्षमा हेलो सरकारमा कुल १ लाख २४ हजार ५८१ गुनासा दर्ता भएकामध्ये ६९ हजार ७२४ गुनासा गत आर्थिक वर्षमा मात्रै प्राप्त भएका छन्, जुन पाँच वर्षको कुल गुनासाको करिब ५६ प्रतिशत हो ।

तीन महिनामा ५० हजारभन्दा बढी गुनासा

कार्यालयका अनुसार पछिल्ला करिब तीन महिनामा हेलो सरकारमा ५० हजार ७२१ गुनासा दर्ता भएका छन् । तीमध्ये ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ ।

यस अवधिमा १८ हजार ५४२ गुनासा फर्छ्यौट भएका, ५४७ गुनासा नहेरिएका, एक हजार ६४२ गुनासा हेरिएका, एक हजार ३२७ प्रक्रियामा रहेका, छ हजार ५६ गुनासा तोकिए पनि नहेरिएका तथा दुई हजार ४४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएका अवस्थामा रहेका कार्यालयले जनाएको छ ।

यस्तै, हेलो सरकारको टोल–फ्री सेवा ११११ मार्फत तीन महिनामा ५० हजार १९६ फोन कल प्राप्त भएकामा ४० हजार १६ कलको सम्बोधन गरिएको छ।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि १८ गतेसम्म मात्रै ९ हजार ६१० गुनासा दर्ता भएकामध्ये ६ हजार ६०१ गुनासा फर्छ्यौट भइसकेका छन् । कार्यालयका अनुसार सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप र इमेलमार्फत प्राप्त गुनासाको विवरण भने यस तथ्याङ्कमा समावेश गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?