नबिल बैंकको निष्क्रिय कर्जामा उल्लेख्य सुधार, नाफा ३३ प्रतिशतले बढ्यो

लोकपथ
7
Shares

काठमाडौं । निष्क्रिय कर्जामा उल्लेख्य सुधार गर्दै नबिल बैंकले आर्थिक वर्ष २०८२–०८३ मा ३३.५० प्रतिशतले खुद नाफा बढाएको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कर्जा गुणस्तरमा सुधार, सञ्चालन मुनाफा वृद्धि तथा ब्याज आम्दानी बढेसँगै अधिकांश वित्तीय सूचक सकारात्मक देखिएका हो ।

बैंकको खुद नाफा बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

सञ्चालन मुनाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले बढ्दै ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको कुल कर्जा १२.५२ प्रतिशतले विस्तार हुँदै ४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप ६ खर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकहरूको कुल कर्जामा नबिलको बजार हिस्सा ९ प्रतिशतभन्दा माथि पुगेको छ ।

कर्जा विस्तारसँगै बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशतले बढेर खुद ब्याज आम्दानी १७ अर्ब रुपैयाँ नाघेको छ । ब्याज तथा गैरब्याज आम्दानीमा भएको वृद्धिका कारण कुल सञ्चालन आम्दानी ६.३ प्रतिशतले बढेर २२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

बैंकले निष्क्रिय कर्जा व्यवस्थापनमा उल्लेखनीय सुधार गरेको छ । कुल निष्क्रिय कर्जा अनुपात ०.२८ प्रतिशत बिन्दुले घटेर ४.२० प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा अनुपात ०.५८ प्रतिशतमा सीमित रहेको छ ।

यस्तै, बैंकको कुल निष्क्रिय कर्जाको करिब ११९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम रहेको छ । यसले सम्भावित जोखिम व्यवस्थापन र कर्जा गुणस्तर अझ सुदृढ भएको संकेत गर्नेछ ।

वितरणयोग्य मुनाफा ३४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । प्रति सेयर वितरणयोग्य मुनाफा १९ रुपैयाँ १० पैसा तथा प्रति सेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा रहेको छ ।

बैंकका अनुसार समग्र वासलातको आकार १५ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ । साथै, पूँजी पर्याप्तता, पुँजी तथा कुल सम्पत्तिको प्रतिफल लगायतका प्रमुख वित्तीय सूचकमा पनि सुधार देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?