नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले के भने ?

लोकपथ
14
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरिरहेको बताए ।

हालै निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफललाई स्मरण गर्दै उनले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री वाग्लेले विगत एक दशकमा धेरै नीतिगत निर्णय भए पनि कार्यान्वयनमा अपेक्षित परिणाम नआएको उल्लेख गर्दै त्यसका कारण खोज्न आवश्यक रहेको बताए । उनले चालु आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्र भएको दाबी गरे ।

उनले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे ।

छलफलका क्रममा अर्थमन्त्रीले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, रोजगारी र लगानीमा परिचालन गर्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध विकास गर्ने विषयमा सुझाव मागेका थिए । साथै, डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई सहज बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

उनले निजी क्षेत्र किन क्रमशः प्रतिरक्षात्मक बन्दै गएको, बैंकमा पर्याप्त तरलता हुँदाहुँदै पनि उद्योगमा कर्जा किन पुग्न नसकेको र उत्पादन तथा उत्पादकत्वले अपेक्षित गति किन लिन नसकेको विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए ।

अर्थमन्त्री वाग्लेले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र एउटै आत्मविश्वासका साथ अघि बढे आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने विश्वास व्यक्त गरे ।

उनले सरकारका तर्फबाट कानुनी संशोधन र संस्थागत सुधारका प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै मौद्रिक नीतिमा पनि सोहीअनुसार स्पष्टता र गति आवश्यक रहेको बताए ।

छलफलमा उठेका विषयलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?