जनसङ्ख्या अनुसन्धान तथा सूचना केन्द्र स्थापना गर्न सरकारसँग पानको माग

लोकपथ
0
Shares

काठमाडौं । नेपाल जनसङ्ख्या संघ (पान) ले नेपालको बदलिँदो जनसाङ्ख्यिक अवस्था, बसाइँसराइ तथा त्यसबाट सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पर्ने प्रभावको अध्ययन तथा विश्लेषण गर्न जनसङ्ख्या अनुसन्धान तथा सूचना केन्द्र स्थापना गर्न सरकारसँग माग गरेको छ ।

पानका अध्यक्ष डा.पदमप्रसाद खतिवडाको नेतृत्वमा उपाध्यक्ष मनु मिश्र, महासचिव प्रदीप बोहोरा लगायतको टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीको निजी सचिवालयमार्फत स्मरणपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

स्मरणपत्रमा हालै सङ्घीय मन्त्रालयहरूको पुनःसंरचनाका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नामबाट ‘जनसङ्ख्या’ शब्द हटाइएकोप्रति चिन्ता व्यक्त गरिएको छ । संघले यस निर्णयले जनसङ्ख्या व्यवस्थापन र नीतिगत प्राथमिकतामा नकारात्मक प्रभाव पार्न सक्ने जनाएको छ ।

अध्यक्ष डा.खतिवडाले राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ ले व्यवस्था गरेअनुसार जनसङ्ख्या अनुसन्धान केन्द्र स्थापना गर्न तथा स्वास्थ्य तथा स्वच्छता मन्त्रालयअन्तर्गत रहेको जनसङ्ख्या महाशाखालाई यथावत् राख्न सरकारसँग आग्रह गरिएको जानकारी दिए ।

“राष्ट्रिय जनसङ्ख्या नीति निर्माणका क्रममा सबै मन्त्रालयसँग समन्वय गरिएको थियो। त्यस नीतिको मर्मअनुसार जनसङ्ख्या महाशाखालाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा हटाउने प्रयास गर्नु उपयुक्त हुँदैन,” उनले भने ।

नेपालको जनसाङ्ख्यिक संरचनामा भइरहेको परिवर्तन, तीव्र बसाइँसराइ तथा त्यसका दीर्घकालीन प्रभावबारे समयमै अध्ययन, विश्लेषण र नीतिगत सुझाव प्रदान गर्न छुट्टै अनुसन्धान तथा सूचना केन्द्र आवश्यक रहेको पानको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?