सबै दलको एक स्वर– ‘राष्ट्रिय एकता र सामाजिक सद्भाव रक्षाका लागि एकताबद्ध छौँ’

लोकपथ
14
Shares

काठमाडौं । सुनसरीमा विकसित घटनाक्रमबारे सबै राजनीतिक दलहरुले सामाजिक सद्भाव कायम र राष्ट्रिय एकताका लागि ऐक्यबद्धता जनाएका छन् ।

आज बसेको सर्वदलीय बैठकमा सबै दलहरुले ऐक्यबद्धता जनाएका हुन् ।

बैठकपछि विज्ञप्ति निकाल्दै उत्पन्न परिस्थितिको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि आफूहरु दृढ संकल्पित रहेको बताएका छन् ।

‘राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालको पहिचान नै विविधताबिचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको स्पष्ट पार्दै सदियौँदेखि नेपाली समाजमा कायम पारस्परिक भाइचारा र सामाजिक सद्भावलाई कायम राख्न सबैलाई अपिल गरिएको छ ।

‘नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो । सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौँ । आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ ।

सुनसरीमा शुक्रबार रातिबाट देखिएको तनाव अझै साम्य हुन सकेको छैन । हिन्दू र मुस्लिम समुदायबिच देखिएको तिक्तताले हिंसाको रुप लिन थालेपछि सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा कांग्रेस सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमालेका महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?