चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

लोकपथ
5.5k
Shares

काठमाडौं। नेपाल चिकित्सक संघले वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारी, निजी र गैरसरकारी सबै अस्पतालमा आकस्मिक सेवा भने नियमित सञ्चालन हुने, तर ओपीडीसहित अन्य सबै सेवा बन्द रहने जनाएको हो ।

संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा.प्रमोद रामसहित अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । उक्त घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको र अस्पतालमा तोडफोडसमेत भएको संघले जनाएको छ ।

घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भइरहेका बेला प्रमुख जिल्ला अधिकारी (सीडीओ) को उपस्थितिमै प्रहरीले बल प्रयोग गरेको संघको आरोप छ । सो क्रममा संघका केन्द्रीय सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार भएको पनि संघले जनाएको छ ।

यही घटनाको विरोध र दोषीमाथि कारबाहीको माग गर्दै संघले आज देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?