शासकीय प्रणाली परिवर्तनबारे खुला बहस गर्न तयार छौँ : गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता गर्न नसकिने स्पष्ट पारेका हुन् ।

उनले संविधान संशोधन गर्दा समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा कांग्रेसको पूर्ण समर्थन रहने बताए । तर नागरिकले प्राप्त गरेका अधिकार कटौती गर्ने वा समावेशितालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो ।

‘समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा हाम्रो पूर्ण समर्थन रहनेछ, तर यसलाई संकुचित पार्ने वा नागरिकले प्राप्त गरेका अधिकारहरू कटौती गर्ने कार्य कांग्रेसलाई स्वीकार्य हुँदैन,थापाले भने ।

सभापति थापाले संविधानका अन्य पक्षमा भने आवश्यकता अनुसार छलफल र परिमार्जन गर्न सकिने बताए । विशेषगरी शासकीय स्वरूपका विषयमा भइरहेको बहसप्रति संकेत गर्दै उनले यसबारे खुला छलफल गर्न कांग्रेस तयार रहेको उल्लेख गरे ।

पछिल्लो समय सडकदेखि विभिन्न राजनीतिक वृत्तसम्म चर्चामा रहेको ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ प्रणालीको मागबारे पनि थापाले अनुभवका आधारमा विमर्श गर्न सकिने धारणा राखे ।

उनले संविधानलाई समयअनुकूल बनाउने विषयमा लोकतान्त्रिक मूल्य र नागरिक अधिकारलाई केन्द्रमा राखेर बहस आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?