सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आमनागरिक मात्र नभई उद्योग, व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन् ।

निराशाकै कारण व्यापारी र केही युवाले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उनले यसनिम्ति पूर्ण रूपमा नभए पनि केही हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गरे ।

दुईतिहाइनजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना रहने उनले बताए ।

उनले आफूहरूको चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने रहे पनि अहिलेसम्मको काम हेर्दा यस्तो संकेत नदेखिएको तर्क गरे ।

अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै ‘स्टन्ट’ गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने नभएको बताए । देशमा उत्पन्न हुने जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?