नागढुंगा सुरुङमार्ग प्रवर्द्धनका लागि ‘टनेल रन एण्ड वाक’, साउनभित्र सञ्चालन गर्ने तयारी

लोकपथ
63
Shares
निर्माण हुँदै गर्दाको नागढुंगा सुरुङमार्ग

काठमाडौं । सडक विभाग र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा शनिबार नागढुंगा सुरुङमार्गमा ‘नागढुंगा टनेल रन एण्ड वाक’ कार्यक्रम सम्पन्न गरिएको छ ।

सुरुङमार्गबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले दौड तथा पदयात्रा आयोजना गरिएको हो ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गको उपयोगिता, सञ्चालन प्रक्रिया र महत्वबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

नागढुंगा–नौबिसे सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भइरहेको यो आयोजना सुरुआती ठेक्का सम्झौताअनुसार सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न हुनुपर्ने थियो। तर, निर्माण कम्पनीको ढिलासुस्ती तथा स्थानीयवासीको अवरोधका कारण आयोजनाको काम समयमै सम्पन्न हुन सकेन ।

आयोजना निर्देशक नेपालले साउन महिनाभित्रै सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

आयोजनाका अनुसार काठमाडौं प्रवेश तथा बाहिरिने प्रमुख नाका नागढुंगा–नौबिसे सडकखण्ड हुँदै दैनिक दुईपाङ्ग्रे बाहेक आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन् । तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ ।

यद्यपि, दुईपाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रमा हुने सवारी जाम कम हुनुका साथै यात्रा समय छोटिने र यातायात व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?