काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्किने भएको छ ।
कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश र एमाले नेतृत्वको कर्णाली प्रदेशमा दुवै दलले एक–अर्काको समर्थन फिर्ता लिइसकेका छन् । भने त्यसको असर कोशी प्रदेशमा पनि देखिएको हो ।
कोशीमा नेकपा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री रहेका छन् । नेपाली कांग्रेसको समर्थन रहेको कोशीमा त्यस विषयमा छलफल गर्न आज प्रदेश संयन्त्रको बैठक बसेको थियो । आजको बैठक बसिरहेका बेला सभापति र उपसभापतिको फोन समेत आएको थियो ।
आजको बैठकमा केही छलफल भएको र निर्णय गर्नेगरी भोलि छलफल गर्ने कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले लोकपथलाई जानकारी दिए ।
‘आज हामी बैठक बस्यौँ । आजको बैठकमा सरसर्ती छलफल मात्रै भयो, भोलि बैठक बसेर टुंगो लगाउन उचित देखेकाले आजको बैठक स्थगित भयो,’ थापाले लोकपथसँग भने ।
यसैगरी तपाईँहरु केन्द्रको निर्णय कुर्दै हो भन्ने लोकपथको प्रश्नमा थापाले भने, ‘हामी हामी केन्द्रका आवश्यक निर्णय कुर्दैछौँ । केन्द्रबाट केही नयाँ निर्णय र निर्देशन आएपछि भोलि सोही अनुसार गर्छौँ ।’
केन्द्रमा नयाँ सरकार बनेको केही महिनापछि नै प्रदेशको समीकरण परिवर्तन हुन लागेको हो ।
केही दिनअघि कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटघाट भएको थियो । उक्त भेटघाटपछि नेकपा र कांग्रेस मिलेर अघि बढ्ने सहमति भएको हो ।
आजको बैठकमा संसदीय दलका नेता थापा, उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सचेतक मैयाँ श्रेष्ठ, ज्येष्ठ सदस्य गयानन्द मण्डल, महामन्त्री उमेश थापा तथा नेता अमृत अर्याललगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
एमालेसँगको सहकार्यमा सरकारमा कांग्रेसबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी रहेका छन् । जसमा भौतिक पूर्वाधारमन्त्री प्रदीपकुमार सुनुवारसहित उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया