काठमाडौं । सशस्त्र प्रहरी बलको गण र रिजर्भ गण गरी ८ वटा गणका गणपतिहरूको एक वर्षे कार्यकाल आज असार मसान्तदेखि सकिएको भए पनि सशस्त्र मुख्यालयले उनीहरूको ठाउँमा अन्य गणपतिको सरुवा निकाल्न सकेको छैन । गत वर्ष असार ८ गतेको मितिमा ‘साउन १ गतेदेखि सरुवा गरिएको कार्यालयबाट तलब भत्ता तथा रासन पाउने गरी’ २४ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दा ९ जनालाई गणको जिम्मेवारी दिइएको थियो ।
त्यसबेला पुरनचन्द्र भट्टलाई नम्बर ९ गण महोत्तरीबाट नम्बर १३ गण पर्सामा सरुवा गरिएको भए पनि माघमा दुई वटा गरी एक वर्ष कार्यकाल पूरा भएपछि उनलाई सरुवा गरिएको थियो । त्यसैले अहिले ८ वटा गणका गणपतिको एक वर्ष कार्यकाल आजको मितिदेखि सकिँदै छ ।
एक वर्ष सकिन लागेका गण र रिजर्भ गणमा नम्बर ६ गण सप्तरी, नम्बर ९ गण महोत्तरी, नम्बर १५ गण काभ्रे, नम्बर २० गण (विपद् उद्धार) सिनामंगल (काठमाडौं), नम्बर ३६ गण डोटी, नम्बर ३९ रिजर्भ गण बर्दिबास (महोत्तरी), नम्बर ४१ रिजर्भ गण चन्द्रौटा (कपिलवस्तु) र नम्बर ४३ रिजर्भ गण बनबेहडा (कैलाली) छन् । यी गण÷रिजर्भ गणको गणपतिमा जेठ पहिलो साता एसपीमा बढुवा भएकाहरू जानेछन् ।
जबकि सशस्त्र मुख्यालयले असार १९ गतेको मितिमा ‘साउन १ गतेदेखि सरुवा गरिएको कार्यालयबाट तलब भत्ता तथा रासन पाउने गरी’ ७१ जना डीएसपीको सरुवा गरेको थियो । जसमा अधिकांश गुल्मपतिको रूपमा पनि सरुवा भएका थिए ।
गुल्मपतिहरुलाई सहजरुपमा सरुवा गरेको सशस्त्र मुख्यालयले गणपतिहरूको हकमा भने सरुवामा विलम्ब गरेको छ ।
सशस्त्र प्रहरी नियमावलीले एसपीसम्मको सरुवा गर्ने अधिकार सशस्त्र प्रहरी महानिरीक्षकलाई दिएको छ । डीएसपीहरुको सरुवालगत्तै संयुक्त राष्ट्रसंघद्वारा आयोजित पाँचौँ संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटको मुख्य कार्यक्रममा सहभागिता जनाउन असार २१ गते अमेरिका गएका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल हिजो ३१ गते काठमाडौं आइसकेका छन् । गृहमन्त्री सुधन गुरुङ काठमाडौं बाहिर भएकाले पनि सरुवामा विलम्ब भएको बताइएको छ ।
स्रोतका अनुसार गृहमन्त्री गुरुङ विवादमा आएका र कार्यसम्पादन राम्रो नभएका अन्य केही गणपतिहरूको पनि सरुवा गर्नुपर्ने पक्षमा उभिएका छन् । गृहमन्त्री गुरुङले केही समयअघि कसैलाई थाहा नै नदिई सीमाक्षेत्र गई गोप्यरुपमा त्यहाँको वस्तुस्थितिसमेत बुझेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया