भीष्मराजले प्रधानमन्त्रीलाई सम्झाए सुकुमबासीसँग गरेको ‘त्यो बाचा’

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामकारबाहीप्रति प्रश्न उठाएको छ ।

सुकुमबासीहरुलाई व्यवस्थापनका नाममा सरकारले झनै पीडा थपेको भन्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रश्न उठाएका हुन् ।

उनले प्रधानमन्त्री बालेनले सुकुमबासीसँग गरेको व्यवस्थित बसोबासको बाचा स्मरण गराए ।

‘मानवीय मूल्य र मर्यादालाई पूर्णतः बेवास्ता गर्दै कुनै करुणा र संवेदनाविनै सुकुमबासी नागरिकलाई बलपूर्वक हटाइँदै गर्दा प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु– ‘ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ ।’ आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?,’ आङ्देम्बेले भनेका छन् ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण सुकुमबासीहरुलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि सरकारको चौतर्फी आलोचना समेत भइरहेको छ । सरकारले सुकुमबासीहरुलाई व्यवस्थापनको नाममा झन भयावह जोखिममा हालेको आङ्देम्बेको आरोप रहेको छ ।

यसैगरी सुकुमबासीहरुको समस्या बुझ्न पुगेका माजिद अन्सारीमाथि आक्रमण र पक्राउ गरिएको विषयमा समेत आङ्देम्बेले प्रश्न गरेका छन् । लोकतन्त्रमा हरेक नागरिकले प्रश्न गर्न पाउने तर सरकारले प्रश्न गरेकै भरमा पक्राउ गरिएको विषय अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण रहेको उनको भनाइ रहेको छ ।

‘झन दुःखद् र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाले प्रश्न सोध्नुलाई सरकारले अपराध नै ठानिएको देखियो । म सोध्न चाहन्छु– लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ? आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुपर्ने सरकारले उल्टै प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण हो,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?