आईजीपी अमेरिका हुँदा सशस्त्रका एआईजी दाहाल एकाएक सक्रिय

दुई एआईजी र चार एसएसपीलाई फिल्डमै खटाए

लोकपथ
371
Shares

काठमाडौं । सीमा क्षेत्रमा सीमा अपराध र चोरी तस्करी नियन्त्रणमा नआएको गुनासो बढ्दै गएपछि सशस्त्र प्रहरी बलका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) नेपाल–भारत सीमा क्षेत्रका मातहत कार्यालय खटिएका छन् । सशस्त्र प्रहरी बलका तीन जना एआईजीमध्ये एक जना बंशीराज दाहाल निमित्त महानिरीक्षक भएर मुख्यालय हाँकिरहेका बेला दोस्रो र तेस्रो वरीयताका एआईजीहरू क्रमशः गणेशबहादुर ठाडामगर र अञ्जनीकुमार पोखरेल पूर्वी र मध्यपश्चिमसम्मको कार्यालय भ्रमणमा निस्किएका छन् । 

संयुक्त राष्ट्रसंघद्वारा आयोजित पाँचौँ संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटको मुख्य कार्यक्रममा सहभागिता जनाउन सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका प्रस्थान गरेपछि दाहालले निमित्त महानिरीक्षक बन्ने सौभाग्य पाएका हुन् । असार २१ गते अमेरिका प्रस्थान गरेका पौडेल असार ३१ गते स्वदेश फर्कने कार्यक्रम छ । 

गृहमन्त्री सुधन गुरुङ आफै नेपाल–भारत सीमा क्षेत्रको छड्के अनुगमन गरेर फर्केपछि ‘दबाब’ मा परेको सशस्त्र मुख्यालयले उनीहरूलाई सीमा क्षेत्रमा पठाएको हो । ती एआईजीद्वयले सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा अपराध तथा चोरी तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी परिचालनलगायतका विषयमा निर्देशन दिने काम गरेका छन् । 

उता, निमित्त नै भएपनि एआईजी बंशीराज दाहालले संगठन प्रमुखकै झल्को दिनेगरी गतिविधि अगाडि बढेका छन् । 

उनले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई थप सशक्त बनाउन भन्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको नेतृत्वमा फिल्डमै अनुसन्धान गरी तत्काल कारबाही गर्न सक्ने अधिकारसहितको विशेष अनुगमन टोली परिचालन गरेका छन् । कुनै पनि प्रकारको भ्रष्टाचार, आर्थिक अनियमितता वा अनुचित प्रभावलाई शून्य सहनशीलताको नीतिअनुसार नियन्त्रण गरी ‘रिवार्ड र पनिसमेन्ट’ नीतिलाई अक्षरशः पालना नगरेको भेटिएमा जुनसुकै तहका कमान्डर तथा विभिन्न दर्जाका सशस्त्र प्रहरी कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गर्नेगरी उनले सो टोली परिचालन गरेका हुन् । 

स्रोतका अनुसार, सशस्त्रले एसएसपीहरू सुधिरजंग थापा, भरत खनियाँ, उद्धव न्यौपाने र समिक महर्जनलाई अनुगमनका लागि खटाएको छ । महर्जनलाई पूर्वक्षेत्र, न्यौपानेलाई मधेश, खनियाँलाई परासीदेखि दाङ र थापालाई दाङदेखि पश्चिम हेर्नेगरी खटाइएको छ ।

सशस्त्र प्रहरी बलका निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले शुक्रबार प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट मातहत युनिटका प्रमुखहरूलाई ब्रिफिङ गर्दै भन्सार छली, अवैध आयात–निर्यात तथा राजस्व चुहावट हुने सम्भावित नाकामा सबै सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोस्ट तथा फरवार्ड पोस्टहरूले २४सै घण्टा निगरानी कायम राख्ने व्यवस्था गरी तस्करी नियन्त्रण तथा सीमा क्षेत्रबाट हुने अवैध निकासी पैठारीलाई पूर्णतया रोक्न कमान्डरहरूलाई निर्देशन दिएका छन् । उनले सीमापार समकक्षी तथा सरोकारवाला सम्बन्धित निकायबाट समेत सूचना लिई काम गर्न सकियो भने सीमामा सञ्चालन गरिने अपरेशनल गतिविधिहरूमा थप सहजता आउने उल्लेख गर्दै खुल्ला तथा संवेदनशील सीमा क्षेत्रको जोखिम विश्लेषण गरी गस्ती, मोबाइल पेट्रोलिङ तथा चेकिङलाई थप गरी प्रभावकारी बनाउन समेत निर्देशन दिए ।

दाहालले आर्थिक विधेयक, २०८३ मा समेत नेपाल सरकारले सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्ने भनेर सम्बोधन गरेको अवस्थामा सीमा इलाकाको सम्पूर्ण विवरण र अभिलेख चुस्त राख्दै जनतासँगको व्यवहारमा नम्रता र कार्यसम्पादनमा पूर्ण व्यावसायिकता प्रदर्शन गर्न सम्पूर्ण युनिट कमान्डरलाई निर्देशन दिए । उनले कुनै पनि विषयमा सशस्त्र प्रहरी कर्मचारीहरू विवादको कारक नभई कानुनबमोजिम निष्पक्ष र पारदर्शी ढंगले कार्य गर्नुपर्ने बताउँदै यस्ता कार्यमा बाहिनीपतिहरूले आफ्नो मातहत कार्यालयहरूको निरन्तर रूपमा अनुगमन गर्दै कार्यक्षेत्रमा हुनसक्ने गल्ती कमजोरीलाई समयमा नै आकलन गरी समाधान गर्नेतर्फ लाग्नुपर्ने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले मुख्यालयले सशस्त्र प्रहरी कर्मचारीहरूको जनशक्ति व्यवस्थापनमा समेत विशेष ध्यान दिएको र सोहीअनुरूप लामो समयदेखि एउटै सीमावर्ती जिल्लामा कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रै अन्यत्र युनिटमा परस्पर सरुवा गर्न र व्यावसायिक आचरणविपरीत काम गर्नेलाई बाहिनी तहमा नै करेक्सन ट्रेनिङ सञ्चालन गर्न बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । उनले मनसुनको समय सुरु भएको हुँदा विगतका बाढी–पहिरो तथा डुबानमा परेका क्षेत्रहरूको पहिचान गरी आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगर, अञ्जनीकुमार पोखरेललगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतका साथै भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण बाहिनीपति, गणपति, गुल्मपति, बीओपी तथा बेस कमान्डरहरू सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?